सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नारायणघाट बुटवल सडक : शिलान्यासको चार वर्षमा कालोपत्र सुरु

बिहीबार , चैत २ २०७९
नारायणघाट बुटवल सडक : शिलान्यासको चार वर्षमा कालोपत्र सुरु

नारायणी नदी पुलदेखि बुटवलसम्म १ सय १५ किलोमिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेन तथा दाउन्नेमा ३ लेन विस्तार गर्ने गरी एडीबीको ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा विस्तार भइरहेको हो।

काठमाडौं- शिलान्यासको चार वर्षपछि पूर्वपश्चिम नारायणघाट-बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ। विगत लामाे समयदेखि अल्झिएकाे आयाेजनाले गत मंसिरमा सम्पन्न चुनावपछि भने गति लिएकाे हो। 

नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जंगल क्षेत्रमा पाँच सय मिटर सडकमा बुधबार कालोपत्र गरिएको हो। गत २०७५ चैत ८ गते शिलान्यास भएको पूर्वपश्चिम जोड्ने मुख्य राजमार्गको यसअघि पूर्वी खण्डको हर्कपुर र पश्चिम खण्डको भुमहीमा कालोपत्रको परीक्षण गरिएको थियो। नेपाली कांग्रेसबाट निर्वाचित सांसद विनाेद चाैधरीकाे विशेष पहलमा आयाेजनाले गति लिएकाे हाे।

कावासोतीदेखि लोकाहासम्मको चार किलोमिटर सडक एक साताभित्र कालोपत्र गरिसक्ने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए। उनका अनुसार राजमार्गको उत्तरतर्फको साढे सात मिटर फराकिलो सडकमात्र पहिलो चरणमा कालोपत्र गरिएको हो।  'बुधबार गरिएको कालोपत्र छ सेन्टिमिटर बाक्लो छ, दोस्रो चरणमा चैत मसान्तभित्र त्यसमाथि थप चार सेन्टिमिटर बाक्लो कालोपत्र थपिने छ', झाले भने। 

कावासोतीको लोकाहादेखि पश्चिम केरुंगेखोलासम्मको क्षेत्र कालोपत्र गर्न थप एक लाख घनमिटर ग्राभेल आवश्यक पर्ने भएकाले निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको जानकारी दिँदै झाले कावासोतीको लोकाहादेखि पश्चिम केरुंगेखोलासम्मको सडक चैतभित्र कालोपत्र गरिने बताए।

फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशतमात्र भएको सडकको निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ करपोरेशनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म १ सय १५ किलोमिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेन तथा दाउन्नेमा ३ लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको विस्तार गरिरहेको छ। लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ।

एडीबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो। साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। 


प्रकाशित : बिहीबार , चैत २ २०७९०४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend