आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्न ‘खेतबारीमा विद्यार्थी’

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३० २०७९
images
विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्न ‘खेतबारीमा विद्यार्थी’

किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइ सँगसँगै आम्दानी पनि गर्दै आएका छन्। विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ। विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन्।

images
images

गलेश्वर- शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय। म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ।

images
images
images

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो। अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कँडेलले बताए। 

images
images

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन्। ‘कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरेका छौँ’, शिक्षालयका प्रमुख कँडेलले भने, ‘हाम्रो आफ्नै कृषि फार्म पनि छ, त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती, माछापालन आदि गरेका छौँ, खेतबारीमा नै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यावहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौँ।’ 

images
images

कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन्। विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कँडेलले बताए। किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ। 

बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटिएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ६० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनाका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर आम्दानी गर्दै आएका शिक्षालयका प्रमुख कँडेलले बताए।

यस शिक्षालयका विद्यार्थीले पढाइ सँगसँगै आम्दानी पनि गर्दै आएका छन्। विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ। विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन्। बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ।

‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ’, शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले भने, ‘विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ।’

विद्यार्थीहरुको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ। उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन्। परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन्।

‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन’, तिलकुमारी रिजालले भने, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौँ।’ 

विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन्। प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ। ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो’, आइएसइएजी प्रथम वर्षमा पढ्ने विशाल रिजालले भने, ‘सानैदेखि घरमा बुबाआमासँगै खेतबारीमा जाने, उहाँहरुलाई सघाउने गर्थेँ। सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै सस्तोमा पढ्न पाएकामा खुसी छु।’  

‘टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर  हामीले आफ्नै छात्रबास निर्माण गर्‍यौँ’, शिक्षालयका संयोजक कँडेलले भने, ‘चमेनागृह पनि सञ्चालनमा ल्याएका छौँ। छात्रबासमा बस्ने विद्यार्थीले आफ्नो खर्चमा मेसमा खान्छन् बस्नका लागि कुनै शुल्क लाग्दैन।’ रासस 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend