आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नेपालले विदेशी लगानीमा थप सुधार गर्दैछ : प्रधानमन्त्री प्रचण्ड 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३० २०७९
images
नेपालले विदेशी लगानीमा थप सुधार गर्दैछ : प्रधानमन्त्री प्रचण्ड 

'नेपालमा व्यवसाय र लगानीमैत्री वातावरण छ। हाम्रो करको दर अन्य मुलुकको तुलनामा कम छ। व्यवसायमा लाभांशको दर राम्रो छ,' प्रधानमन्त्री पुष्पकमल दाहालले भने, 'विदेशी लगानीकर्तालाई नेपालबाट आम्दानी र लाभांश फिर्ता लैजान सहज छ।'

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले विदेशी लगानीका क्षेत्रमा थप सुधारका काम गरिरहेको बताएका छन्। मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) द्वारा काठमाडौंमा आयोजित नेपाल चीन लगानी तथा व्यवसाय फोरमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

images
images
images

नेपाल र चीनबीचको व्यापार र लगानी मुलुकका लागि निकै महत्वपूर्ण रहेको उनको भनाइ थियो। 'नेपालको कुल व्यापारको १४ प्रतिशतभन्दा बढी चीनसँग छ, चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी पठाउने मुलुक हो,' उनले भने, 'नेपाल चीनमा थप निर्यात व्यापार बढाउन चाहन्छ र भित्रने लगानी पनि बढाउन चाहन्छ।'

images
images

उनले नेपालमा नीतिगत र राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गरे। 'नेपालमा व्यवसाय र लगानीमैत्री वातावरण छ। हाम्रो करको दर अन्य मुलुकको तुलनामा कम छ। व्यवसायमा लाभांशको दर राम्रो छ,' उनले भने, 'विदेशी लगानीकर्तालाई नेपालबाट आम्दानी र लाभांश फिर्ता लैजान सहज छ।'

images
images

नेपालमा निजी लगानीमा राष्ट्रियकरण नगरिने कानूनी व्यवस्था रहेकाले ढुक्कले लगानी गर्न पनि उनले अनुरोध गरे। नेपालले लगानीका क्षेत्रमा थप सुधार गरिरहेको पनि उनले बताए। 'विदेशी लगानीलाई अटोमेसन गर्दैछौँ', उनले बताए।

नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको र २०३० मा मध्यम आयको स्तरमा पुग्न लागेकाले त्यसबाट सृजना हुने अवसरलाई सदुपयोग गर्न उनले अनुरोध गरे। 'नेपाल चीन क्रसबोर्डर इकोनोमिक जोन बनाउन दुई देशबीच छलफल भइरहेको छ। रेलवे लाइन जोड्न काम भइरहेको छ', उनले भने, 'पूर्वाधारमा थप लगानी विस्तार गर्न अनुरोध गर्दछु। नेपालको उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न पनि चीनलाई अनुरोध गर्दछु।'

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी पठाउने मुलुक भएको बताए। 'नेपालमा चिनियाँ लगानीकर्ताले हालसम्म २ खर्ब ६० अर्ब नेपाली रुपैयाँ लगानीको प्रतिबद्धता गरेका छन्। १लाख रोजगारी सृजना भएको छ,' उनले भने।

नेपालले चीन-नेपाल सहकार्यको बृहत् अवसर सृजना गरेको उनले बताए। 'नेपाललाई स्तरोन्नतिबाट नयाँ विकासको चरणमा चीन स्वागत गर्न चाहन्छ,' उनले भने, 'यसमा दुई मुलुकबीचको आर्थिक सहयोगले थप बलियो बनाउने छ।'

ट्रान्स हिमालय पारवहनले गति लिँदै गरेको र त्यसले नेपाललाई ल्यान्ड लिंक्ड बनाउने उनले बताए। हालै नयाँ चिनियाँ प्रधानमन्त्रीले चीनले सुधारलाई अझै गहिरो बनाउँदै गरेको र थप खुला बनाउने पनि बताएका छन्। यसबाट नेपालले फाइदा लिन सक्ने उनको भनाइ छ। 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालमा चिनियाँ लगानी र सरकारको सहयोगले नेपालको विकासमा महत्वपूर्ण रहेको बताए। पूर्वाधारमा चीनको लगानी निकै महत्वपूर्ण भएको पनि उनले बताए। 

सिसीपीआईटीका उपाध्यक्ष झाङ साओगाङले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्षदेखि दुई देशका बिजनेस समुदायले गहिरो सहकार्य गरेको बताए। 'चिनियाँ निर्माण व्यवसायीले नेपालमा १० अर्ब ७४ करोड अमेरिकी डलरको कन्ट्रयाक्ट साइन गरेका छन्,' उनले भने। दुई मुलुकबीचको व्यापार र लगानीको वातावरण अझै गहिरो बनाउनुपर्ने उनले बताए।


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend