सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नागढुंगा सुरुङमार्गको काम ७६ प्रतिशत; अन्डरपास, ओभरपासलगायतका काम सकियो

सोमबार, फागुन २९ २०७९
नागढुंगा सुरुङमार्गको काम ७६ प्रतिशत; अन्डरपास, ओभरपासलगायतका काम सकियो

पहिलो आकस्मिक सवारीको लागि ४ मिटर चौडाइको र अर्काे ९ मिटर चौडाइको सुरुङ बन्ने छ जसमा सवारीसाधन नियमित आवतजावत गर्नेछन्।

काठमाडौं- निर्माणाधीन नागढुंगा सुरुङमार्गको काम ७६ प्रतिशत सकिएको छ। आयोजनाले हालै सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सुरुङ खन्ने काम ७६ प्रतिशत सकिएको हो। 

सुरुङमार्गको मुख्य सुरुङ २६ सय ८८ मिटर बनाउनुपर्नेमा हालसम्म १८ सय ६९ मिटर खनि सकिएको छ। त्यस्तै इभ्याकुएसन सुरुङ २१ सय २७ मिटर र क्रस प्यासेज ७४ मिटर खनिएको छ। 

समग्रमा ५४ सय ९९ मिटर सुरुङ खन्नु पर्नेमा हालसम्म ४१ सय ९७ मिटर खनिसकिएको आयोजनाले जनाएको छ। 

यस्तै सुरुङ मार्गमा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास र तीनवटा ब्रिजको काम सकिएको आयोजनाले जनाएको छ। 

नगढुंगा सुरुङ मार्गको काम २०७७ पुस ७ गतेबाट सुरु थियो। ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गको शिलान्यास गरेका थिए। २.६८ किलोमिटर लम्बाईको सुरुङ मार्ग कोरोना महामारी लगायत विभिन्न कारणले केही ढिलाइ भएको थियो। 

यो सुरुङ मार्ग ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट खनिएको छ। यो नै नेपालका पहिलो सडक सुरुङ मार्ग हो।  

पहिलो आकस्मिक सवारीको लागि ४ मिटर चौडाइको र अर्काे ९ मिटर चौडाइको सुरुङ बन्ने छ जसमा सवारीसाधन नियमित आवतजावत गर्नेछन्। यो सुरुङ मार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको हो। जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा यो सुरुङ मार्ग निर्माण भइरहेको छ। जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग र सरकारको ४ अर्ब ८० करोड रुपैयाँ गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा आयोजना निर्माण भइरहेको छ। 

सुरुङसँगै सर्भिस ट्र्याक, फ्लाइओभर निर्माणलगायतको कामसमेत भइरहेको आयोजनाले जनाएको छ। 

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुनेछ। तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्। एउटा गाडी बिग्रँदा पनि दुबैतर्फ गाडी चल्न सक्ने गरी सुरुङको निर्माण भएको छ। सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वारसमेत छन्।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने र कमजोर ढुङ्गा माटोलाई सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ। सो स्थानमा बसपार्क, तरकारी संकलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ। निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँशी नगरपालिकामा नै हस्तान्तरण गर्ने आयोजनाको योजना छ।


प्रकाशित : सोमबार, फागुन २९ २०७९०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend