मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सर्लाहीको नवलपुरमा बन्यो नयाँ सबस्टेसन, विद्युत् आपूर्ति भरपर्दो बनाएर चुहावट घटाइने

आइतबार, कात्तिक ७ २०७८
सर्लाहीको नवलपुरमा बन्यो नयाँ सबस्टेसन, विद्युत् आपूर्ति भरपर्दो बनाएर चुहावट घटाइने

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए। 

काठमाडौं- सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ। 

सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ। सबस्टेसन शनिबार चार्ज गरिएको हो। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए। 

‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भने। 

‘अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुने भएकोले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ, सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने छ।’ 

पूर्वपश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ।  सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ। यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइने छ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६मा सुरु गरिएको थियो। कोभिड-१९ को महामारी कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए।

सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो। 


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend