आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नेपालमै ‘खानी’ इन्जिनियर उत्पादन गर्दै केयू

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
images
नेपालमै ‘खानी’ इन्जिनियर उत्पादन गर्दै केयू

केयूले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर) को अध्यापन सुरू गर्ने भएको हो।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ। यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर) को अध्यापन सुरू गर्ने भएको हो।

images
images
images

देशभित्र ‘खानी’ इन्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ। उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन सुरू गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले बताए।

images
images

उनले भने, ‘देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चारवर्षे भू-विज्ञान तथा माइनिङ इन्जिनियरिङको अध्यापन सुरू गर्न लागेका हौँ।’ नेपालमा खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ।

images
images

‘पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ’, उनले भने। उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ। उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ।

नेपालमा खानी इन्जिनियरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भू-गर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ। विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध-बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुवी र नीलमणि) रहेको छ।

यस्तै केयूले सुरू गर्न लागेको भू-विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो।

केयूले दुईसाता अघिमात्रै काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सुरूङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता गरेको थियो। सम्झौतामा गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म चार महिनामाभित्र सुरङमार्ग अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गरिएको छ। रासस 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend