आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सडक बत्तीको बक्यौता भुक्तानी गर्न स्थानीय तहलाई प्राधिकरणको आग्रह, समयमै नबुझाए कारबाही गर्ने चेतावनी

मंगलबार, फागुन २३ २०७९
सडक बत्तीको बक्यौता भुक्तानी गर्न स्थानीय तहलाई प्राधिकरणको आग्रह, समयमै नबुझाए कारबाही गर्ने चेतावनी

प्राधिकरणले वितरण केन्द्रहरूको सहमति नलिई विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न समेत भनेको छ।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता रकम भुक्तानीका लागि सबै स्थानीय तहलाई आग्रह गरेको छ।

प्राधिकरणले एक सूचना जारी गरी विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै समयमै बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो।

स्थानीय निकायले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढ्दो रहेको र सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले वितरण केन्द्रहरूको सहमति नलिई विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न समेत भनेको छ। जडित सडक बत्तीको विद्युत खपत मापनका लागि शीघ्र मिटर जडान गर्न र सडक बत्तीसम्बन्धी अन्य थप जानकारीका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राख्न पनि सूचनामा भनिएको छ।

प्राधिकरणले सडक बत्तीका लागि सिंगल फेज इनर्जी मिटर निःशुल्क उपलब्ध गराउने र एउटा सिङ्गल फेज इनर्जी मिटरबाट १०० वाटको ५० वटाभन्दा बढी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिने हुँदा प्रत्येक सडक बत्तीलाई छुट्टाछुट्टै इनर्जी मिटर उपलब्ध नगराइने जनाएको छ।

मिटरको क्षमता तथा सडक बत्ती जडान गरेको क्षेत्रको आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केवल तानी सडक बत्तीका लागि मिटर जडान गर्न समेत प्राधिकरणले भनेको छ। तोकिएको सर्तबमोजिम काम नभएको अवस्थामा कानूनअनुसार कारबाही हुने समेत प्राधिकरणले जनाएको छ।


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend