बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टेस्लाले बनायो ४० लाख विद्युतीय कार, पछिल्लो ७ महिनामै बनायो १० लाख कार 

मंगलबार, फागुन २३ २०७९
टेस्लाले बनायो ४० लाख विद्युतीय कार, पछिल्लो ७ महिनामै बनायो १० लाख कार 

टेस्लाका अनुसार उसलाई १० लाख कार उत्पादन गर्नै १२ वर्ष लागेको थियो। टेस्लाको पहिलो पुस्ताको कार रोडस्टार २००८ उत्पादन सुरु भएको थियो। 

काठमाडौं- समकालिन विश्वको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले ४० लाख कार उत्पादन पूरा गरेको छ। अमेरिकी कार उत्पादक कम्पनी टेस्लाले २००८ बाट विद्युतीय कार उत्पादन तथा बिक्री सुरु गरेको थियो। 

मार्च १ २०२३ को इन्भेस्टर डेमा टेस्लाले ४० लाख विद्युतीय उत्पादन भएको घोषणा गरेको हो। टेस्लाको ४० लाखऔं कार टेस्ला मोडल वाइ भएको र उक्त कार गिगा टेक्ससमा उत्पादन भएको थियो। 

टेस्लाका अनुसार उसलाई १० लाख कार उत्पादन गर्नै १२ वर्ष लागेको थियो। टेस्लाको पहिलो पुस्ताको कार रोडस्टार २००८ उत्पादन सुरु भएको थियो। 

त्यसयता टेस्लाले हरेक वर्ष उत्पादन तथा बिक्री उल्लेख्य रुपमा बढाइरहेको छ। २०२२ को अन्त्यसम्म आइपुग्दा टेस्लाले ३७ लाख कार उत्पादन गरेको थियो। पछिल्लो १० लाख कार भने टेस्लाले ७ महिनामै उत्पादन गरेको जनाएको छ। २०२१ र २०२२ मा टेस्लाले वार्षिक औषत १७ लाख कार उत्पादन गर्न सफल भएको हो। 

२०२२ मा टेस्लाले १३ लाख कार उत्पादन गरेको थियो। २०२३ मा टेस्लाले १८ लाख कार उत्पादन गर्ने अनुमान गरिएको छ भने टेस्ला आफैले भने २० लाखभन्दा बढी कार उत्पादन गर्ने दाबी गरेको छ। 

क्यालिफोर्निया, चीन, जर्मनी र टेक्ससमा रहेको ४ उत्पादन प्लान्टको वार्षिक जडित उत्पादन क्षमता १९ लाख रहेको छ। विद्युतीय कार उत्पादनमा टेस्ला निक्कै आक्रामक देखिएको छ। टेस्लाले हालै आफ्नो नयाँ प्लान्ट मेक्सिकोमा खोल्ने घोषणा गरेको छ। हाल टेस्लासँग विभिन्न स्थानमा गरेर वार्षिक १९ लाख कार उत्पादन गर्ने क्षमता भएका प्लान्ट सञ्चालनमा रहेका छन्। 

टेस्लाले वार्षिक २ करोड कार उत्पादन गर्ने महत्वाकांक्षी योजना लिएको छ। सोही अनुसार टेसलाले उत्पादन प्लान्ट विस्तारलाई उच्च प्राथमिकता दिएको छ। टेस्लाले २०२२ मा १३ लाख कार उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने टोयोटाले २०२२ मका विश्वभर १ करोड कार बिक्री गरेको थियो। 

टेस्लाले मेक्सिकोमा प्लान्ट स्थापना गर्ने तय भइसकेको मेक्सिकोका राष्ट्रपति आन्द्रेसले बताएको सीएनएनले लेखेको छ। टेस्लाले मेक्सिकन प्लान्टमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने रोयटर्सले उल्लेख गरेको छ। टेस्लाले वार्षिक २ करोड वटा कार उत्पादन गर्न ठूलो लगानीसमेत गर्नुपर्ने छ।

वार्षिक २ करोड कार उत्पादन गर्न टेस्लाले कुल १ सय ५० अर्बदेखि १ सय ७५ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने अनुमान गरिएको छ। हालसम्म टेस्लाले कार उत्पादनका लागि २८ अर्ब डलर लगानी गरिसकेको छ। 

टेस्लाका विद्युतीय कार महँगो मध्येमा पर्दछ। अमेरिकामा टेस्लाको मोडल थ्री, मोडल वाई भने ५५ हजार डलरभन्दा कम मूल्यमा पाइन्छ। अमेरिकाको तुलनामा चीनमा उत्पादित टेस्लाका कार सस्तो मूल्यमा उपलब्ध छ। अमेरिकामा विद्युतीय कार खरिद गर्दा ७ हजार ५ सय ट्याक्स क्रेडिट दिँदै आएको छ। तर ट्याक्स क्रेडिट पाउन कार उत्तर अमेरिकामै उत्पादन भएको हुनुपर्छ। 

टेस्लाका कार विश्वको धेरै देशमा पुगिसकेको छ। प्रविधि र विलासीता तथा विद्युतीय कार भएकाले धेरैको रोजाइमा टेस्ला ब्रान्ड पर्ने गरेको छ। तर उपलब्धता र महँगो मूल्यका कारण धेरैले खरिद गर्न सकिरहेका छैनन्। 

टेस्लाका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। विद्युतीय कारमा सरकारले कर सहुलियत दिएकाले टेस्लाका विद्युतीय कार नेपाली बजारमा उपलब्ध हुन सकेका छन्। हालसम्म नेपाली बजारमा करिब ३ दर्जन विद्युतीय कार बिक्री भइसकेको छ। नेपाली बजारमा बिक्री भइरहेका टेस्लाको मोडल थ्री र मोडल वाई अरेटी इन्टिरनेसनलले उपलब्ध गराउँदै आएको छ। 


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend