सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

लस्ती-बनौ सडक सञ्जालमा जोडिएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २२ २०७९
लस्ती-बनौ सडक सञ्जालमा जोडिएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै

घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौवासीलाई लामाखेत आउन जान झञ्झट, सास्ती भएपछि विसं २०७५ देखि लस्ती-बनौ सडक निर्माण सुरु भएको थियो। सडक निर्माणपछि बनौका पाँच सय घरधुरीका साथै धाइरिङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन्। 

म्याग्दी- जलजला गाउँपालिका-८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ।

सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो। जलजला-९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सिधा सडक सञ्जालमा जोडिएको बताए।

‘बनौदेखि पाङ-अर्मादी-मालढुङ्गा-लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो’, उनले भने, ‘२० किलोमिटर दूरीको बनौ-लस्ती-लामाखेत सडक ४५ मिनेटमा पार गर्न सकिने भएको छ।’ 

घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौवासीलाई लामाखेत आउन जान झञ्झट, सास्ती भएपछि विसं २०७५ देखि लस्ती-बनौ सडक निर्माण सुरू भएको थियो। सडक निर्माणपछि बनौका पाँच सय घरधुरीका साथै धाइरिङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन्। 

चार वर्षको प्रयासमा सल्लेनीको सर्पको गुँड भन्ने भिरमा मार्ग खोल्ने काम यसपटक सकिएको उपभोक्ता समितिका अध्यक्ष दुलबहादुर पुर्जाले बताए। ‘यसअघिका तीन वर्ष बजेट विनियोजन भए पनि काम गर्न नसकेर फ्रिज भयो’, उनले भने, ‘यसपालि उपभोक्ता समितिमार्फत मार्ग खोल्न सफल भयौँ।’ 

सडक निर्माणमा संघीय सरकारबाट दुई चरणमा एक करोड ३० लाख रूपैयाँ विनियोजन भए पनि भौगोलिक कठिनाइ र जोखिम भएकाले निर्माण व्यवसायीले काम गर्न नसकेपछि सबै बजेट खर्च हुन सकेन। गत वर्ष जलजला गाउँपालिकाले रु २५ लाख विनियोजन गरेर ठेक्का आह्वान गरेको थियो।  

अक्करे र जोखिमयुक्त पहाडमा सडक निर्माणका लागि व्यवसायी तयार नभएपछि ठेक्का रद्द भएको थियो। यसपाली गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। 

उपभोक्ता समितिका अध्यक्ष पुर्जाका अनुसार पाँचरछ जना डोजर अपरेटरलाई देखाउँदा जोखिम भएको भन्दै काम गर्न मानेनन्। डोजर अपरेटर माधव रेग्मीले ओडार परेको भिरमा काम गर्ने आँट गरे। जोखिम मोलेर संयमतापूर्वक डोजर चलाएर मार्ग खोल्न सफल पनि भए। रासस


प्रकाशित : सोमबार, फागुन २२ २०७९०५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend