आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गाउँमा सौर्य ऊर्जाको विद्युत सेवा

आइतबार, फागुन २१ २०७९
गाउँमा सौर्य ऊर्जाको विद्युत सेवा

वैकल्पिक केन्द्रको तीन करोड एक लाख ८८ हजार र पालिकाको ३० लाख रुपैयाँ साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।  

जुम्ला- जुम्लाको तिला गाउँपालिका-७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत सेवा सञ्चालनमा ल्याइएको छ। उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमको आज उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भणडरीले भने, 'गाउँमा सहजरुपमा बिजुली उत्पादन भएको छ।'

आगामी दिनमा प्रत्येकको घरमा दाउराबाट नभइ विद्युतीय चुलोबाट खाना पकाउनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गरिने विश्वास दिलाउँदै पूर्वमन्त्री भण्डारीले दीर्घकालीनरूपमा सेवा प्रवाह गरिने बताए। स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा ५० किलोवाट क्षमताकोसौर्य ऊर्जा सञ्चालनमा आएको पूर्व कानूनमन्त्री भण्डारीले जानकारी दिए।  

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सेवा विस्तार गरिएको हो। बिजुलीले गाउँ झिलीमिली भएपछि स्थानीयवासी हर्षित भएका छन्। वैकल्पिक केन्द्रको तीन करोड एक लाख ८८ हजार र पालिकाको ३० लाख रुपैयाँ साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।  

विद्युत सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोका भरमा थिए। अब बिजुली आएपछि सबै खुशी भएको पोखरी सौर्य ऊर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए। सौर्य ऊर्जाले गाउँ नै झिलीमिली भएपछि बिजुली बाल्ने धोको पूरा भएको उनले उल्लेख गरे। 

सबै गरेर एक सय २० घरमा बिजुली बालिएको केन्द्रले जनाएको छ। एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन्। गाउँमा पोलपोलमा बिजुली बालिएको छ। जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ। टीभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउँका स्थानीयवासी बताउँछन्। 

उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन पनि सञ्चालनमा आउन सहज हुने पोखरीवासी बताउँछन्। बिजुली बालेपछि स्थानीयवासीको मुहारमा खुशी देखिएको छ। दियालोको धूवाँका कारण स्थानीयमा श्वासप्रश्वाससम्बन्धि रोगले सताउने गरेको भए पनि बिजुली बल्दा त्यस्ता समस्या समाधान हुने स्थानीवासी धिरज रोकायाले विश्वास व्यक्त गरे। रासस


प्रकाशित : आइतबार, फागुन २१ २०७९१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend