सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति कामले पायो तीव्रता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
पूर्वपश्चिम राजमार्ग स्तरोन्नति कामले पायो तीव्रता

गत वर्ष सडक बोर्डमार्फत राजमार्गको भाँसी सडकखण्ड चाैडा गरिएको थियो। गड्डाचौकी, दैजी, सिसैयालगायतका क्षेत्रमा यसअघि नै सडक चाैडा गरिएको छ।

कञ्चनपुर- पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत आठ करोड रूपैयाँमा ठेक्का प्रक्रियामार्फत सडक चाैडा बनाउने काम गरिरहेको हो।
 
राजमार्ग चाैडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले जानकारी दिए। उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुईसय मिटर सडक स्तरोन्नतिको काम भइरहेको छ। सडक स्तरोन्नतिपश्चात् कालोपत्र गर्ने उनले बताए। 
 
‘दश वटा पाइप कल्भर्ट चाैडा गर्ने काम अन्तिम चरणमा पुगेको छ। सडक मर्मत गरी चार लेनको बनाइँदैछ’, उनले भने। ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक/एक लेन थप्न लागिएको चटौतले जानकारी दिए। 

गत वर्ष सडक बोर्डमार्फत राजमार्गको भाँसी सडकखण्ड चाैडा गरिएको थियो। गड्डाचौकी, दैजी, सिसैयालगायतका क्षेत्रमा यसअघि नै सडक चाैडा गरिएको छ। सडक निर्माणका लागि मुमताज कन्ट्रक्सन, जसलिङ जेभी कम्पनीले र कल्भर्ट निर्माणका लागिमैनाचुली जेभिसँग ठेक्का सम्झौता गरिएको थियो।

पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको अगाडि बढाइँदै आएको छ। चालु आर्थिक वर्षको असारमसान्तसम्म सडक र कल्भर्ट चाैडा गर्ने काम सम्पन्न गरिसक्ने गरी समय सीमा निर्धारण गरिएको छ। 

यसैगरी, सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सातमा सडक निर्माण गरिरहेको छ। ‘जग्गा प्राप्ति नहुँदा एक निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति अगाडि बढ्न सकेको छैन’, सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, ‘बाँकी सातमा कार्य अगाडि बढिरहेको छ।’ उनका अनुसार हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ। 

चटौतले भने, ‘दुई वर्षभित्रकाम सक्नुपर्ने गरी सम्झौता भएको हो। सातवटै सडक स्तरोन्नतिका लागि तीन करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।’ निर्माण थालिएका सातवटै सडक आठदेखि १० किलोमिटरका हुनेछन्। रासस 


प्रकाशित : आइतबार, फागुन २१ २०७९१२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend