सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अरूण नदीको पुलको नट बोल्ट भाँच्चियो, १० टनभन्दा बढीका सवारीसाधन प्रवेशमा रोक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
अरूण नदीको पुलको नट बोल्ट भाँच्चियो, १० टनभन्दा बढीका सवारीसाधन प्रवेशमा रोक

पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए।

भोजपुर- भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ। नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ।

पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताए। उनले पुलमा आवागमनका लागि प्रहरीले समन्वय गरिरहेको बताए।

पुलमा लगाइएका आठ वटा नट बोल्ट भाँचिएपछि १० टनभन्दा बढीका सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना जारी गर्दै पुलमा लगाइएका नट बोल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो।

पुलको मध्यभागमा स्टिल गृडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको नट बोल्ट भाँचिएको बताइएको छ। हाल पुलमा सुरक्षाकर्मीको समन्वयमा एक पटकमा एउटा सवारीसाधन मात्रै प्रवेश गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ। दश वर्ष अगाडिबाट सञ्चालनमा आएको एक सय २० मिटर लम्बाई र सात मिटर चौडाइको उक्त पुल जोखिममा परेपछि आवागमनमा समस्या भएको छ।

दैनिक सवारीसाधन आवतजावत गर्ने पुल जोखिममा परेपछि यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयवासी शंकर आचार्यले बताए। आचार्यले भने, ‘सडक डिभिजनले अहिले सूचना टाँस गर्ने काम मात्र गरेको छ, मर्मतका लागि तत्काल पहल थाल्नुपर्‍यो।’

पुलमा देखिएको समस्या तत्काल समाधान गरेर सहज यातायातको व्यवस्था गरिनुपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर मोक्तानले बताए। ‘पुलमा देखिएको जोखिमका कारण सवारीका साधन मात्र होइन जिल्लामा नियमित प्रयोगमा आउने खाद्यन्नलगायत अत्यावश्यक सेवाको ढुवानीमा समेत समस्या हुन्छ, त्यसैले पुल मर्मत चाँडै थाल्नुपर्छ’, उनले भने।

हाल जोखिम सावधानका लागि पुलबाट अतिआवश्यक सामग्री तथा सवारीसाधन मात्र आवतजावत भइरहेका सडक डिभिजन तुम्लिङटारले जनाएको छ। रासस  


प्रकाशित : आइतबार, फागुन २१ २०७९११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend