सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बेथानचोकमा सुरुङमार्ग बनाउन अध्ययन गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
बेथानचोकमा सुरुङमार्ग बनाउन अध्ययन गरिँदै

काभ्रेपलाञ्चोक- बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको छ।

अध्ययनका लागि बुधबार विश्वविद्यालय र गाउँपालिकाका प्रतिनिधिबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र विश्वविद्यालयका इन्जिनियरिङतर्फका डिन प्राडा मनिष पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतामा सुरुङमार्ग निर्माणार्थ ढुङ्खर्क खोला-च्याम्राङ्बेँसी सडक सुरङमार्गको काठमाडौं विश्वविद्यालयको प्रविधिक तथा प्राज्ञिक सहयोगमा प्रारम्भिक अध्ययन गर्ने र त्यसका लागि गाउँपालिकाले विश्वविद्यालयलाई आर्थिक सहयोगस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने, स्थानीय समस्यामा आधारित भएर संयुक्त अनुसन्धान र प्रकाशनको कार्य गर्ने तथा समसामयिक विषयमा संयुक्त आयोजनामा सेमिनार, सम्मेलन र गोष्ठी सञ्चालन गर्ने उल्लेख गरिएको छ। 

गाउँपालिका अध्यक्ष अधिकारीले वडा नं ४, २ र १ मा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म सुरङमार्ग अध्ययनका लागि सम्झौता गरिएको बताए। उनका अनुसार सम्झौताको चार महिनाभित्र सुरुङमार्ग बनाइने स्थानको भौगर्भिक स्थितिसँगै सबै प्रकारका अध्ययन सक्ने योजना बनाइएको छ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सुरङमार्ग अध्ययन स्थानीय तहसँगको समन्वयमा काम गर्ने माध्यम बनेको जनाउँदै जिल्लाका अन्य तहसँग पनि स्थानीय समस्या तथा शिक्षाका विषयमा सहकार्य गर्दै जाने बताए। उनले सुरङमार्ग अध्ययन विश्वविद्यालयका विद्यार्थीका लागि सिकाइ हुने तथा खोजमूलक विषय हुने बताए। रासस


प्रकाशित : बुधबार, फागुन १७ २०७९१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend