सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पुलचोक-गोन्द्राङ सडक : मिति सकियो तर काम सकिएन, थपियो १० महिना म्याद

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १२ २०७९
पुलचोक-गोन्द्राङ सडक : मिति सकियो तर काम सकिएन, थपियो  १० महिना म्याद

तोकिएको समयमा ६५ प्रतिशत काम सम्पन्न भएपछि बाँकी कामका लागि मिति थप गरिएको हो। गत माघ २५ गते मिति सकिएपछि १० महिना थप गरिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए।

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाभित्र पर्ने पुलचोक-गोन्द्राङ सडक विस्तारको काम सम्पन्न गर्न दश महिना मिति थप गरिएको छ। तोकिएको समयमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएपछि मिति थप गरिएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार गत माघ २५ गते मिति सकिएपछि १० महिना थप गरिएको छ। आगामी मंसिर २३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी समय थप गरिएको हो।

सम्झौता भएको २८ महिनाभित्र सम्पन्न गर्नुपर्ने सडक विस्तारको काम कोरोना महामारी, क्रसर बन्द, खानेपानी पाइप, विद्युत् पोल सार्नुपर्नेलगायतका कारण समयमा काम सम्पन्न हुन नसकेको उनले बताए।

सो सडकको चौबीसकोठीदेखि पुल्चोकसम्मको काम तीब्र गतिमा भइरहेको छ। बजार क्षेत्रमा काम भइरहेकाले ट्राफिक व्यवस्थापन जटिल बनेको छ। काम गरेका क्षेत्रमा सवारीसाधन आवतजावतमा समस्या परेको छ। गोन्द्राङदेखि चौबीसकोठीसम्म दुई तहको कालोपत्रे (डिबिएम) भइसकेको छ। रिजालचोकदेखि चौबीसकोठी खण्डको बीचमा पनि कालोपत्रे गर्ने तयारी गरिएको छ। सडकमा तीन तहको कालोपत्रे हुनेछ। यो सडकमा तीन तहसम्मको कालोपत्रे हुनेछ।

पचास मिटर चौडा सडक छ दशमलव पाँच किलोमिटर लामो रहेको छ। एक अर्ब २३ करोड लागतमा सडक विस्तार गर्न इन्डो सगुन जेभी बुटवलले जिम्मा पाएको छ। ठेकेदारसँग विसं २०७७ कात्तिक ११ गते सम्झौता भएको थियो। यो सडकलाई सहरी क्षेत्र सुन्दर देखिने गरी निर्माण गरिने छ। सडकका बीचमा आकर्षक हरियाली हुनेछ। छेउमा फुटपाथ रहने छ। सडकको ठाउँअनुसार फरक फरक नक्सांकन गरेर आकर्षक बनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०८:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend