आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल

images
मंगलबार, फागुन २ २०७९
images
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल

अहिले मुलुक वित्तीय संकटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताएका छन्।

images
images
images

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘१६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्रांगारिक कृषि मेला-२०७९’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहजरुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको बताए। 

images
images

'सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवर्द्धन र संरक्षण गर्न आवश्यक छ। त्यसका लागि छुट्टै ऐन चाहिएको छ। यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ', प्रधानमन्त्री दाहालले भने। केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताए। 'हामी पाँच दशक अघि खाद्यान्न निर्यात गथ्र्यौँ। नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ। मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ', उनले भने।
 
लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताए। त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने बताए। 
  
अहिले मुलुक वित्तीय संकटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ। 'तत्काल देखिएको वित्तीय संकट हटाउनका लागि सरकार लागिपरेको छ। अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन' दाहालले भने।   

images
images

सोही कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताइन्। 'निर्यात प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता हो। हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवर्द्धनमा पनि लाग्नुपर्छ। नेपालमा उत्पादित वस्तुले बजार पाउन थालेको छ। तपाईँहरू उत्पादन बढाउनतिर लाग्नुहोला' मन्त्री चौधरीले भनिन्।
 
बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले मौलिक र स्वदेशी उत्पादनको बजारीकरणका लागि प्रदेश सरकारले भूमिका खेल्ने बताए। 'व्यापार प्रवर्द्धनमा सरकारी नीतिको पनि महत्वपूर्ण भूमिका रहन्छ। हामीलाई हाम्रो पुस्ताले दिएको सम्पत्ति भनेको कला र संस्कृति हो। त्यसलाई व्यवसायीकरण गर्न प्रदेश सरकार सबै खालका सहयोग गर्न तयार छ', उनले भने।
     
नेपाल घरेलु तथा साना उद्योग महासंघ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ। मेलामा करिब दुई लाखले अवलोकन गर्ने र आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २ २०७९१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend