आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

२४० आयोजनाका ११ हजार मेगावाट पीपीए खुलाउन निजी क्षेत्रको माग

सोमबार, फागुन १ २०७९
२४० आयोजनाका ११ हजार मेगावाट पीपीए खुलाउन निजी क्षेत्रको माग

'निजी क्षेत्रले जलविद्युतमा १२ खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको र गएको ५ महिनामा भारतीय बजारमा विद्युत बिक्रीभएको ११ अर्ब रुपैयाँ आम्दानीमा पनि निजी क्षेत्रको भूमिका रहेको'

काठमाडौं- निजी क्षेत्रले १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन नेपाल विद्युत प्राधिकरणले गरेको निर्णयको स्वागत गरेको छ। 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इपान) ले विद्युत प्राधिकरणको माघ २६ गतेको सञ्चालक समितिबाट भएको आरओआर आयोजनाको पीपीए खुलाउने निर्णयको स्वागत गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा आएका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले ४ वर्षदेखि रोकिएको पीपीए खुल्ला भएको निजी ऊर्जा उत्पादकहरूको भनाइ छ।

ऊर्जा मन्त्री लिङ्देनको अग्रगामी पहलकदमीकै कारण १५ सय मेगावाटका आरओआर आयोजनाको पिपिए खोलिएको इपानका अध्यक्ष कृष्ण आचार्यले बताए।  उनले अहिले निजी क्षेत्र अगाडि बढाएका ११ हजार ७ सय १६ मेगावाटका २४० जलविद्युत आयोजना पीपीएको पर्खाइमा रहेको बताए।

उनले निजी क्षेत्रलाई विद्युत उत्पादन गर्न अनुमतिपत्र सरकारले दिएको हुँदा पाइप लाइनमा पालो कुरिरहेका यी जलविद्युत आयोजनाको पीपीए गर्ने दायित्व पनि सरकारकै भएको बताए। उनले निजी क्षेत्रले जलविद्युतमा १२ खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको र गएको ५ महिनामा भारतीय बजारमा विद्युत बिक्रीभएको ११ अर्ब रुपैयाँ आम्दानीमा पनि निजी क्षेत्रको भूमिका रहेको बताए।

इपान उपाध्यक्ष मोहन डाँगीले गत वर्ष बर्खा याममा विद्युत बजारको उचित व्यवस्थापन नहुँदा २ अर्ब रुपैयाँ बढीको विद्युत खेर फाल्नु परेकोमा आगामी बर्खामा यो परिमाण अझै बढ्ने चिन्ता बढेको बताए। उनले चालू आर्थिक वर्षमा थप ८ सय मेगावाट विद्युत प्रसारण प्रणालीमा थपिन लागेकाले आउने बर्खामा विद्युत बिक्रीबाट हुने आम्दानीको ठूलो हिस्सा गुमाउनु पर्ने अवस्था आउन लागेको बताए।

इपानका अर्का उपाध्यक्ष गणेश कार्कीले बर्खामा अरबौंको विद्युत बिक्री गर्न नपाउँदा दर्जनौं जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले ऋणको सावाँ ब्याज तिर्न नसक्ने अवस्था आएकाले समस्या समाधानका लागि गरेको पहलप्रति ऊर्जा मन्त्री सकारात्मक देखिएको बताए। 

विद्युत प्राधिकरणले सौर्य विद्युत आयोजनाको पीपीएको प्रतिस्पर्धी अधिकतम दर ७.३० रुपैयाँबाट घटाएर ५.९४ रुपैयाँ निर्धारण गरिएकोमा यो दरमा आयोजना निर्माण गर्न नसकिने हुँदा दर पुनरावलोकन गर्न पनि इपानले माग गरेको छ।


प्रकाशित : सोमबार, फागुन १ २०७९०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend