आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

त्रिशुली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २६ २०७९
त्रिशुली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिँदै

जलाशयको पुनःस्थापना भएपछि विद्युतगृहलाई विद्युतको माग बढी हुने समय (पिक)मा दैनिकरुपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिनेछ।

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका-९ त्रिशुली बजारस्थित त्रिशुली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुवात गरेको छ।

विसं २०२३ देखि सञ्चालनमा रहेको विद्युतगृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण थालिएको छ।

करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युतगृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणलाई आधुनिक तथा स्वचालित बनाइनेछ। करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनःस्थापनाको काम सुरु गरिएको छ।

साथै, जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ। अहिले यही बाइपास नहरमार्फत विद्युत् उत्पादन भइरहेको छ। नहर सञ्चालनमा रहेकोले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिएको माटो, बालुवा निकाल्ने काम जारी छ।

गत वैशाखदेखि सुरु भएको जलाशयको पुनस्र्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। विद्युतगृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने छ। यसका लागि ठेक्का सम्झौता भई केही उपकरण उत्पादनका क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरण केन्द्रस्थलमा आपूर्ति भइसकेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनःस्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ।

जलाशयको पुनःस्थापना भएपछि विद्युतगृहलाई विद्युतको माग बढी हुने समय (पिक)मा दैनिकरुपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिनेछ। हिउँदमा पिकिङका लागि बाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिनेछ।

वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताए।

विदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना तयार गरेको छ। जलाशयमा डुङ्गा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बगैँचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ।

भारतीय अनुदानमा त्रिशुली जलविद्युत् आयोजनाको निर्माण गरिएको हो। अर्धजलाशययुक्त त्रिशुली जलविद्युत् केन्द्रबाट वार्षिकरुपमा १६ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको छ। गत आर्थिक वर्षमा विद्युतगृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो। गत आवसम्ममा केन्द्रले पाँच अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन गरिसकेको छ।

भारतीय रुपैयाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो। पछि यसको पुनःस्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट पुर्‍याइएको हो। त्रिशुली जलविद्युत् केन्द्रको क्यास्केडका रुपमा १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र पनि सञ्चालित छ। रासस


प्रकाशित : बिहीबार , माघ २६ २०७९०९:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend