काठमाडौं- भ्रामक विज्ञापन गरी उपभोक्तामाझ भ्रम सिर्जना गरेको भन्दै शिवम् सिमेन्टविरुद्ध वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेको छ।
शिवम् सिमेन्ट लिमिटेडले आफूमात्रै ओपीसी सिमेन्ट उत्पादक कम्पनी भएको दाबी गर्दै विज्ञापन गरिरहेको विषयमा उपभोक्ताले 'उपभोक्ता अधिकार अनुसन्धान मञ्च'मा उजुरी गरेपछि मञ्चले विभागमा कारबाहीका लागि उजुरी दर्ता गराएको हो।
मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ७ को १ (छ) विपरित शिवमले भ्रमपूर्ण विज्ञापन गरेको भन्दै उजुरी दिइएको हो।

ऐनको ७ को १ (छ) मा वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार गर्न नपाइने व्यवस्था विपरित शिवम्ले 'एकमात्र ओपीसी सिमेन्ट उत्पादन गर्ने असली ओपीसी सिमेन्ट' रहेको सन्देश दिनेगरी भ्रामक विज्ञापन गर्दै आएको छ।
यसरी भ्रामक विज्ञापन गर्ने कम्पनीलाई ऐनमा कारबाहीको व्यवस्थासमेत छ। भ्रामक विज्ञापन गर्ने शिवमलाई दुईदेखि तीनवर्षसम्म कैद साथै सजाय तथा ३ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्नसक्ने कानूनी व्यवस्था छ।