बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सोलिड-स्टेट-ब्याट्रीसहितको विद्युतीय कार ल्याउने निसानको घोषणा

सोमबार, माघ २३ २०७९
सोलिड-स्टेट-ब्याट्रीसहितको विद्युतीय कार ल्याउने निसानको घोषणा

सोलिड स्टेट ब्याट्री प्रविधिले ब्याट्री पावर प्रविधिको दीर्घकालिकता बढाउनमा मद्दत गर्ने निसानको युरोप क्षेत्रमा रहेको आरएन्डडीका उपाध्यक्ष डेभिड मोसले बताएका छन्।

काठमाडौं- जापानी कार उत्पादक कम्पनी निसान विद्युतीय सवारी उत्पादन गर्ने परम्परागत कम्पनीमा पहिलो मध्येमै पर्छ। कम्पनीले २०१० डिसेम्बरमै अमेरिकामा पहिलो विद्युतीय कार निसान लिफ सार्वजनिक गरेको थियो। 

समयक्रमसँगै विद्युतीय सवारीको प्रविधिमा ठूलो परिवर्तन आइसकेको छ। निसानले नै २०१७ मा लिफको परिमार्जित भसर्न सार्वजनिक गरेको थियो। अब भने कम्पनीले नयाँ ब्याट्री प्लेटफर्ममा आधारित विद्युतीय कार ल्याउने भएको छ। निसानले सोलिड स्टेट ब्याट्रीमा आधारित विद्युतीय कार ल्याउने घोषणा गरेको छ।

निसानले २०२५ पाइलट प्रोाजेक्टका रुपमा सोलिड स्टेट ब्याट्रीमा आधारिक विद्युतीय कार सार्वजनिक गर्ने बताएको छ। पाइलट प्रोजेक्ट २०२६ मा सकिने र २०२८ देखि सो विद्युतीय कार बिक्रीका लागि बजारमा ल्याउने निसानले तय गरेको दाबी अटोकार यूकेले लेखेको छ। सोलिड स्टेट ब्याट्रीयुक्त विद्युतीय कार बनाउने योजनामा लागेको कम्पनी निसानमात्र भने होइन। 

विश्वका अन्य सवारी उत्पादक कम्पनीहरुले पनि यही प्रविधिमा आधारिक विद्युतीय कार निर्माणमा काम गरिरहेका छन्। 

सोलिड स्टेट ब्याट्री प्रविधिले ब्याट्री पावर प्रविधिको दीर्घकालिकता बढाउनमा मद्दत गर्ने निसानको युरोप क्षेत्रमा रहेको आरएन्डडीका उपाध्यक्ष डेभिड मोसले बताएका छन्। सोलिड स्टेट ब्याट्री अहिलेको ब्याट्रीको तुलनामा तीन गुणा छिटो चार्ज हुने दाबी गरिएको छ। 

त्यस्तै सोलिड स्टेट ब्याट्री अहिलेको लिथियम आयन ब्याट्रीको तुलनामा दोबर उर्जा संचय गर्ने क्षमता राख्छ। अहिले प्रचलनमा रहेको लिथियम आयन ब्याट्री उत्पादनमा जति खर्च लाग्छ सोलिड स्टेट ब्याट्री त्यसको ५० प्रतिशत कममा उत्दान हुने दाबी गरिएको छ। 

निसानले बेलायतको अक्सफोड विश्वविद्यालयसँग समेत सोलिड स्टेट ब्याट्री उत्पादनमा सहकार्य रहेको छ। निसानले सोलिड स्टेट ब्याट्रीमा प्रयोग गर्ने गरि १० वर्ग सेन्टिमिटरको सेल समेत उत्पादन गरिसकेको छ। सोलिड स्टेट ब्याट्रीको अन्तिम रुप ल्यापटपकै आकारमा हुने दाबी पनि निसानले गरेको छ। यसले विद्युतीय कारको आकार र तौल घटाउनमा समेत सहयोग गर्नेछ। 

यो सोलिड स्टेट ब्याट्रीमा कुनै पनि तरल पदार्थको प्रयोग हुने छैन। निसानले आगामी दिनमा ठूलो आकारको विद्युतीय पिकअप तथा एसयूभी उत्पादन गर्ने जनाएको छ। सोलिड स्टेट ब्याट्री प्रविधिको विकासले अटोमोबाइल क्षेत्रले ठूलो उपलब्धि हासिल गर्ने विश्वास मोसले लिएका छन्। 

अहिलेको तुलनामा सोलिड स्टेट ब्याट्री प्रयोगमा आएसँगै विद्युतीय कार उत्पादनको लागत ६० प्रतिशतसम्म कम हुने दाबी गरिएको छ। यस्तै भएमा विद्युतीय सवारीको दुनियामा उपभोक्ताले सस्तो मूल्यमा सहजै विद्युतीय कार किन्न सक्नेछन्। सस्तो मूल्यमा विद्युतीय कार आएमा नेपाललगायतका मुलुकरुले समेत लाभ पाउने छन्।  


प्रकाशित : सोमबार, माघ २३ २०७९०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend