बुद्धभूमि- पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ। घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल। झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ।
तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो। उमेरले ६३ वर्ष कट्नुभएका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गरेका होइनन्। सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आएका छन्।
तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगंगा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ।
अर्घाखाँचीलगायत कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासीसम्म पुष्प व्यवसायका रूपमा नाम कमाएका दर्लामीले यसैबाट दैनिकी चलाउँदै आएका छन्। पुष्पखेतीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्ने उनले बताए। सानै उमेरदेखि फूलका सौखिन दर्लामीले कुनै बेला यसरी फूलको खेती गरिएला भन्ने सोचेका थिएनन्।
'सानैदेखि आर्टको काम गर्दै आएको हुँ, आर्टको काम गर्दा थुप्रै चित्र बनाएको छु। त्यही पेसा गर्दैगर्दा पुष्पखेती गर्ने सोच पलायो। शोखले गरेको पुष्पखेती एकाएक फैलिएर व्यवसायका रूपमा परिणत भयो', दर्लामीले भने।
छ सन्तानका बाबु उहाँ जागिरको सिलसिलामा भारतका विभिन्न स्थानसम्म पुगेका छन्। नेपालमै केही वर्ष अध्यापनको अनुभव पनि छ।
उनले आफ्नो साढे छ रोपनी जग्गामा पुष्पखेती गरेको बताए। बाह्रै महिना फुल्ने फूल लगाभएका उनले विशेषगरी तिहारमा बढी प्रयोग गरिए पनि अघिपछि त्यति प्रयोग नगरिने अनुभव सुनाए। फूलको व्यापार पनि मौसमअनुसार हुने उनको भनाइ छ। उनी भन्छन्, 'बाह्रै महिना मेरो माग बढ्दो छ। फूलमात्रै नभएर फूलका बिरुवा पनि उत्पादन गर्ने गरेको छु। मैले उत्पादन गरेका फूलका बिरुवा ठूला नर्सरीमा लगाउँछन्।'
अहिले उनी यिनै फूल लिएर कपिलवस्तु झरेका छन्। यही माघ १७ गतेदेखि जारी कपिलवस्तु महोत्सवमा उनले फूलको स्टल राखेका छन्। केही वर्षयता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आएका उनले यस वर्ष पनि निरन्तरता दिएको बताए। महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उनले फूलखेती लगाउने तरिका पनि सिकाउने गरेका छन्। कतिपयले महोत्सवबाट घरमा शोभाका लागि फूलका बिरुवा किनेर लैजाने गरेको उनले सुनाए।
कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफूलाई स्टल ल्याउन आग्रह गरेकाले यहाँ आएको उनले सुनाए। कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफूले स्टल लैजाने गरेको उनले बताए।
पुष्प व्यवसायी दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, बेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरीलगायत दुई दर्जनभन्दा बढी जातका फूल लगाउने गरेका छन्। उनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छ भने अन्य चार–पाँच जनालाई सिजनअनुसार जागिर दिँदै आएको उनले बताए। रासस