बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय कारमा आक्रामक हुँदै किया, भारतमै सस्तो मूल्यका विद्युतीय कार बनाउने

शनिबार, माघ २१ २०७९
विद्युतीय कारमा आक्रामक हुँदै किया, भारतमै सस्तो मूल्यका विद्युतीय कार बनाउने

२०२३ मा किया इन्डियाले भारतमा २० अर्ब भारु लगानी गर्ने घोषणा गरेको थियो। उक्त लगानी मुख्यगरि विद्युतीय सवारीसँग सम्बन्धित आरएन्डडी, उत्पादन र चार्जिङ पूर्वाधार विकासमा खर्च हुने कियाले जनाएको छ।

काठमाडौं- कोरियाली सवारी उत्पादक कम्पनी कियाले भारतीय बजारलाई लक्षित गरेर सस्तो मूल्यको विद्युतीय कार बनाउने भएको छ। हाल भारतसहित विश्व बजारमा ईभी सिक्स लगायत विद्युतीय कार बिक्री गर्दै आएको कियाले भारत र वरपरको बजारलाई मध्यनजर गर्दै नयाँ सस्तो मूल्यको विद्युतीय कार बनाउने भएको हो। 

भारतीय बजारमा विद्युतीय कारको माग बढ्दै गएको र सरकारले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेर सहुलियतसमेत दिएकाले सवारी उत्पादकहरुले उच्च प्राथमिकता दिएका छन्। भारतमा कार उत्पादन सुरु गरेको तेस्रो वर्षमै कया भारतकै पाँचौं ठूलो कार उत्पादक बन्न सफल भएको छ। यसबाट पनि किया इन्डिया उत्साहित बनेको हो। त्यसैले भारतीय उपभोक्ताको चाहनाअनुसार सस्ता वा प्रतिस्पर्धी मूल्यको विद्युतीय कार उत्पादन गर्ने बताएको हो।  

बढ्दो विद्युतीय कारको मागलाई सम्बोधन गर्दै बजार विस्तारलाई थप मजबुत बनाउन कियाले भारतमा सानो आकारको विद्युतीय एसयूभी उत्पादन गर्ने तयारी गरेको हो। कम्पनीले भारतबाट उत्पादन गर्ने उक्त विद्युतीय एसयूभी भारत, नेपाललगायत विश्व बजारमा समेत बिक्रीका लागि लैजाने जनाएको छ।  

भारतमै बन्ने विद्युतीय कार २०२५ सम्ममा बिक्रीका लागि तयार भइसक्ने अनुमान गरिएको छ। भारतमा सेल्टोस र सोनेटको उत्पादन गरेर चर्चामा रहेको कियाले भारतीय बजारमा विश्व बजारमा बिक्री गरिरहेको ईभी सिक्स ल्याइसकेको छ।

गएको जनवरीमा भारतको नोयडामा भएको अटो एक्सपो २०२३ मा कियाले ईभी सिक्स र ईभी नाइन कन्सेप्ट सार्वजनिक गरेको थियो। २०२५ मा बजारमा आउने विद्युतीय कार भने सानो आकारको हुनेछ। 

२०२३ मा किया इन्डियाले भारतमा २० अर्ब भारु लगानी गर्ने घोषणा गरेको थियो। उक्त लगानी मुख्यगरि विद्युतीय सवारीसँग सम्बन्धित आरएन्डडी, उत्पादन र चार्जिङ पूर्वाधार विकासमा खर्च हुने कियाले जनाएको छ। 

किया इन्डियाका उपाध्यक्ष हरदीपसिंह ब्रारले भारतमा २०२५ मा मास मार्केट ईभी सार्वजनिक गर्ने गरि कम्पनीले तयारी गरिरहेको बताएका छन्। उक्त समयसम्म विद्युतीय सवारीले भारतीय बजारमा गति लिइसक्ने र सोही समयकै वरिपरि कियाले प्रतिस्पर्धी मूल्यको विद्युतीय कार ल्याउने तयारी गरेको उनको भनाइ छ। 

२०२५ सम्म पुग्दा भारतमा बिक्री हुने कुल सवारीमध्ये विद्युतीयको हिस्सा ५ प्रतिशत पुग्ने अनुमान धेरैले गरेका छन्। उक्त समयमा भारतीय कार बजार ४२ लाखभन्दा बढीको हुने र त्यसमा २ लाखभन्दा बढी हिस्सा विद्युतीयको हुनेछ। 

त्यस्तै २०३० सम्म पुग्दा भारतीय बजारमा विद्युतीय सवारीको हिसस १३ प्रतिशत पुग्ने अनुमान गरिएको छ। भारत तथा विश्व बजारमा बढ्दो विद्युतीय सवारीको मागलाई ध्यानमा राखेर कियाले कोरियासहित भारत तथा अन्य देशमा समेत विद्युतीय कारको आरएन्डडीमा विशेष चासोका साथ लगानी बढाइरहेको छ। 

कियाका विद्युतीय कारलले भारतीय कार उत्पादक कम्पनी टाटा मोटर्स, महिन्द्राले उत्पादन गरेका विद्युतीय कारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। हाल भारतको विद्युतीय कार बजारमा टाटाको बजार हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ। 

टाटा मोटर्स, महिन्द्रा एन्ड महिन्द्रा, हुन्डाईलगायत कम्पनीले भारतमा दर्जनभन्दा बढी विद्युतीय कार मोडल सार्वजनिक गर्ने योजना बनाएका छन्। कियाले भारतमा २०३० सम्ममा वार्षिक ४० लाख कार बिक्री गर्ने लक्ष्य लिएको छ। ती कार मध्ये ५० प्रतिशत विद्युतीय हुने दाबी कम्पनीले गरेको छ। 

२०३० सम्म कियाले विश्व बजारमा १४ नयाँ मोडलका विद्युतीय कार ल्याउने जनाएको छ। कोरियाली कार उत्पादक कियाका लागि भारत राम्रो बजारका रुपमा दरिएको छ। कियाको विश्व बजारको बिक्री मध्ये भारतको बिक्री १० प्रतिशत रहेको छ भने आम्दानीमा भारतको योगदान ८ प्रतिशत रहेको छ। कियाले ९० भन्दा बढी देशमा कार निर्यात गर्दै आएको छ।

कियाले नेपाली बजारमा पनि विद्युतीय कार बिक्री गर्दै आएको छ। कियाले यसअघि सोल इभी र निरो बिक्री गर्दै आएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले नयाँ विद्युतीय कार ल्याउने तयारी गरेको छ। कियाको ईभी सिक्स नेपालमा पनि बुकिङ गर्ने उपभोक्ताहरु रहेका छन्। कन्टिनेन्टलले किया निरो ईभी समेत पुनः ल्याउने तयारी गरेको छ। ईभीका साथै कियाको सेल्टो तथा सोनेट कार पनि नेपाली बजारमा लोकप्रिय रहेका छन्।


प्रकाशित : शनिबार, माघ २१ २०७९०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend