सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बेँसीसहर-चामे सडक ४० प्रतिशत स्तरोन्नति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २० २०७९
बेँसीसहर-चामे सडक ४० प्रतिशत स्तरोन्नति

जोखिमपूर्ण यस सडकखण्डमा वर्षायाममा झन् जोखिम हुँदा मनाङवासी बढी मर्कामा पर्दै आए पनि विस्तारै सडकको स्तरोन्नति भएपछि केही सहज हुने देखिन्छ।

लमजुङ- पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ। पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ। बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक स्तरोन्नति गरिएकामा अझै ६० प्रतिशत बाँकी रहेको डुम्रे बेँसीसहर चामे सडक आयोजनाका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले बताए। 

उनका अनुसार यहाँ नाली निर्माण, टेवा पर्खाल निर्माण, स्याल्व र  कल्भर्ट निर्माण र  पाइपको काम अन्तिम अन्तिम चरणमा पुगेको छ। नाली निर्माणको काम पनि ६० प्रतिशत बाँकी रहेको र नाली निर्माणपश्चात् भने कालोपत्र कार्य अघि बढ्ने उनको भनाइ थियो। 

सडक चौडा गर्ने, कटिङ गर्ने कार्य गरिएको छ। अब नाली बनाउने र केही संचरना निर्माणलगायत काम बाँकी रहेको उक्त आयोजनाले जनाएको छ। निर्धारित समयसीमा भित्र सम्झौताअनुसार काम सम्पन्न गर्ने लक्ष्यका साथ नै काम अघि बढिरहेको बताइएको छ। आगामी असार २९ गतेभित्र उक्त सडक कालोपत्र गरिसक्नुपर्नेमा निर्धारित समयमा काम सम्पन्न गर्न सकिदैन कि भन्ने स्थानीयवासीमा आशङ्का बढ्न थालेको छ। 

सूचना अधिकारी अधिकारीले भने, 'दसैँ, तिहार, चुनाव र बर्खायामका कारण काममा सुस्त भएकामा अहिले भने तीव्ररुपमा अघि बढेको छ। स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यसखण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोका लागि ट्र्याक्क खोलेका थिए।’

कार्यालयका अनुसार बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एक साइड मात्र नाली निर्माण हुने भएको छ। पहिलो चरणको उक्त कार्य सम्पन्न भएपश्चात् दोस्रो चरणमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने भएको छ। 

तेस्रो चरणमा रेखाङ्कन, रोड फर्निचर, पोन्टिङलगायत काम गरिने भएको छ। पहिलो चरणको निर्माण गत असार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघिबढे पनि सम्पन्न भने हालसम्म हुन सकेको छैन। आशिष अनेस्ट जेभीले विसं २०८० असार २९ गतेसम्म कालोपत्र गर्ने गरी विसं २०७८ असार ३० मा सम्झौता गरेर काम अघि बढाएको थियो। 

जोखिमपूर्ण यस सडकखण्डमा वर्षायाममा झन् जोखिम हुँदा मनाङवासी बढी मर्कामा पर्दै आए पनि विस्तारै सडकको स्तरोन्नति भएपछि केही सहज हुने देखिन्छ। रासस


प्रकाशित : शुक्रबार, माघ २० २०७९०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend