सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सौराहामा पर्यटकीय पदमार्ग निर्माण हुने, १४ करोड २४ लाखको ठेक्का सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १९ २०७९
सौराहामा पर्यटकीय पदमार्ग निर्माण हुने, १४ करोड २४ लाखको ठेक्का सम्झौता

आयोजना निर्माणको जिम्मा लोहनी-लोहनी एण्ड सन्स्-हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ। आयोजनाको काम विसं २०८१ जेठ २८ सम्म सम्पन्न गरिसक्नुपर्ने छ।

चितवन- चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने भएको छ। सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार शिलान्यास गरिएको हो। नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण अन्तर्गत पर्ने सो मार्गको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास गरे।

सापकोटाले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्षअघिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइकल लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब एक हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको बताए। 

कूल १४ करोड २४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माणको ठेक्का सम्झौता भइसकेको छ। 'सौराहाको पर्यापर्यटनका लागि रत्ननगर नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ। हामी सबै मिलेर दोस्रो पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्छ', उनले भने। 

सौराहाको सुन्दरता बढाउन र समुदायको दीर्घकालीन हितका निम्ति यो आयोजना निर्माण गरिन लागेकाले निर्माणका क्रममा भत्काउनुपर्ने स्थायी/अस्थायीका लागि कसैले पनि चित्त दुखाउन नहुने उनको भनाइ छ। 

उनले सिमलको रुख काट्ने प्रक्रियाका लागि निकुञ्जसँग समन्वय गर्ने र सडक निर्माणका क्रममा घरविहीन हुनेलाई नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिद्धबता व्यक्त गरे।

आयोजना निर्माणको जिम्मा लोहनी-लोहनी एण्ड सन्स्-हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ। आयोजनाको काम विसं २०८१ जेठ २८ सम्म सम्पन्न गरिसक्नुपर्ने छ।

सौराहामा करिब ३० करोड रुपैयाँको बजेट परेको भन्दै उहाँले नगर गौरवको आयोजनाअन्तर्गत बुढीराप्तीमा चित्रसारीदेखि सौराहा जोड्ने कूल तीन करोड ९५ लाखको लागतमा ‘सिग्नेचर’ पुल निर्माणका लागि सर्भे पूरा भई ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। नगरप्रमुखका रुपमा पाँचवर्षे कार्यकालमा सौराहालाई सुगम पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ।

रत्ननगर-६ का वडाध्यक्ष किरण चौधरीले सौराहाको विकासका लागि राप्ती नदीमा ड्याक निर्माणदेखि पूर्वाधार विकासका लागि पछिल्लो समय भएका काम उदाहरणीय रहेको बताए। 

रत्ननगरले सबैभन्दा धेरै बजेट सौराहा क्षेत्रमा लगाएकाले सौराहालाई नमूना पर्यटकीय गन्तव्य बनाउन यहाँका पर्यटन व्यवसायीको पनि उत्तिकै दायित्व रहेको उल्लेख गरे। रासस


प्रकाशित : बिहीबार , माघ १९ २०७९०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend