आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङमा 'ब्रेक थ्रु'

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १९ २०७९
तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङमा 'ब्रेक थ्रु'

सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४ सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको हो। 

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। 

‘ब्रेक थ्रु’ भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान सहज भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए। 

आयोजनाको पहिलो प्याकेजअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो भने अन्तिम विस्फोट मङ्गलबार गरिएको प्रमुख शिल्पकारले बताए।

पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेशन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ। हालसम्म मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन्। 

आयोजनाका अनुसार पाँच सय ३९ दशमलव आठ मिटर लम्बाइको डाइभर्सन सुरुङ-१ को ब्रेक थु्र भइसकेको छ। सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको काम सिनो हाइड्रो, चीनले गरिरहेको छ।

त्यस्तै, तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी, भारतले गरिरहेको छ। निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर अन्तर्गत एशियाली विकास बैंक (एडीबी)ले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। रासस


प्रकाशित : बिहीबार , माघ १९ २०७९०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend