काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गहुँ आयातका लागि भारतसँग पहल भइरहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले गहुँ आयात सहज हुने बताएका हुन्। भारतसँग यस बारेमा छलफल भइसकेको र तत्काल आयात खुल्ने बताएका छन्। भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। केहि समयअघि मात्र नेपालका लागि भारतिले निश्चित परिणामको गहुँ निर्यातको बाटो खोलेको थियो।
नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महङ्गो मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका छन्।
नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्मका लागि भारतबाट नेपालमा ५० हजार टन गहुँ निर्यात गर्ने अनुमति दिएको हो ।
त्यसैगरी महानिर्देशनालयले नेपाललाई ५० हजार टन गहुँ आयातका लागि आवश्यक विवरण उपलब्ध गराउनसमेत भनेको छ । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँको मूल्य महङ्गो परेको थियो भने व्यवसायीहरू कालोबजारीबाट गहुँ किन्न बाध्य भएका थिए ।
भारतले गहुँ निर्यात बन्द गर्दा गहुँको मूल्य नेपाली बजारमा ३० देखि ४० प्रतिशतसम्म बढेको थियो । अहिलेको कोटाले नेपाली बजारको माग धान्न कठिन हुने भन्दै व्यवसायीहरूले कोटा बढाएर सामान्य अवस्थाको जस्तै बनाउनुपर्ने लविङमा छन्।
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आज सिंहदरवारमा भेटगरी उद्योग व्यवसाय प्रवद्र्धनका बिषयमा छलफल गरेको थियो।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थीर ब्याजदरका कारण विशेषगरि साना व्यवसायी अत्यन्त प्रताडित भएको बताएका थिए।
अर्थतन्त्रमा अहिले देखिएका समस्याका बारेमा महासंघका पदाधिकारीहरूले मन्त्रीलाई बताएका थिए।
उक्त अवसरमा मन्त्री भण्डारीले वन्द हडताल एवं लोडसेडिङका कारण उत्पादन वन्द हुने अवस्था आउन नदिन सरकारले विशेष पहल गर्ने आश्वासन दिएका थिए।