शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाए रेष्टुराँ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १६ २०७९
images
साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाए रेष्टुराँ

हरेक सदस्यले समान साढे दुई लाख बराबर लगानी गरेका छन्। रेष्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ। 

images
images

पोखरा- सङ्ख्या विज्ञानमा अंक ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको सुरुवात हो। गणना विधिमा दुई अंकको चक्र ९९ मा सकिन्छ र तीन अंकको चक्र सुरु हुन्छ। धार्मिक हिसाबले अंक ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ। एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अंकले दिन्छ।

images
images
images

९९ जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बीम्ब हो। जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ। यहाँ  गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गर्ने प्रयासमा छन्।

images
images

पोखरा महानगरपालिका वडा नम्बर-१० को बुद्ध चोकमा महिलाहरूको सामूहिक प्रयासमा साढे दुई करोड लगानीमा रेस्टुराँ सुरु भएको हो। उनीहरू सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत् एकआपसमा जोडिए। कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैङ्क्वेट चलाए।

images
images

महिला सशक्तीकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरूले रेस्टुराँ सुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन्। पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरू एकजुट भइ दिदीबहिनी किचन स्थापना गरेका हुन्।

'सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ। विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महशुस भएपछि रेस्टुराँ सुरु गरेका हौँ', गुरुङले भनिन्। 

महिलाहरू एकताबद्ध भएर भइ सञ्चालन गरेको यो व्यवसाय आफैँमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरू अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ।

रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरू जोडिएका भएपनि छुट्टै कम्पनी हो। यो प्राइभेट लिमिटेडका रुपमा दर्ता छ। हरेक सदस्यले समान साढे दुई लाख बराबर लगानी गरेका छन्। रेष्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ। 

एउटा रेन्टुराँ चलाउनका लागि उनान्सय जनाको लगानी किन? 'यसको सांकेतिक अर्थ त छ नै। व्यवहारिक रुपमा पनि यस्तो हुन गयो। प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ। नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौँ', सञ्चालक गुरुङले भनिन्।

कोभिड-१९ महामारीभन्दा केही समयअघि मात्र सुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो। व्यवसाय पूर्णरुपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो। तर दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन। तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन्। व्यवसाय सुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८/७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ। 

दिदी बहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ। 'रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरू सामाजिक काममा पनि खटिन्छन्। यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौँ। कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमूलक काममा पनि खटाउने गरेको उनको भनाइ छ। 

सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ। यहाँ सदस्यहरू आफै सेवामा खटिन्छन्। लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकियोस्। रासस


प्रकाशित : सोमबार, माघ १६ २०७९०७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend