शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

तीन वर्षदेखि चीनसँगको टिपताला नाका बन्द, सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १३ २०७९
images
तीन वर्षदेखि चीनसँगको टिपताला नाका बन्द, सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा

यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए। गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए।

images
images

ताप्लेजुङ- कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन। चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ। कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो।
 
लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ। सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ। यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए। गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए।
 
दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ। व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै  थन्किएका छन् भने अन्य उत्पादन पनि सहजरूपमा बजार लैजान सकिएको छैन। खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ। फुङ्लिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ओलाङचुङगोलामा दुई सय रुपैयाँसम्म पर्छ। अरु सामानको मूल्य पनि उत्तिकै महँगो छ।

images
images
images

'नाका बन्द हुँदा चिराइतोलगायतका जडीबुटी निर्यात भएको छैन, तिब्बतको बजारमा पुग्ने गलैँचा घरैमा थन्किएका छन्, पशुपालकलगायत व्यापार व्यसायीको आम्दानी घटेको छ, दैनिक उपभोग्य वस्तु महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ', ओलाङचुङगोलाका निवर्तमान वडाध्यक्ष छेतेन शेर्पाले भने। उनका अनुसार सदरमुकाम फुङ्लिङबाट इलाडाँडा भन्ने ठाउँसम्म सडक यातायात हुँदै लगिएका सामान त्यहाँदेखि भरियामार्फत ओलाङ्चुङगोला पुर्‍याउन प्रतिकिलो ६० रुपैयाँसम्म ढुवानी भाडा लाग्छ। याङ्मा पुर्‍याउँदा अझ बढी लाग्छ।
 
याङ्मा, घुन्स र ओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन्। यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार र गलैँचा उत्पादन हो। घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे। गलैँचा उत्पादकले रिउबजारमा लगेर बेच्ने गरेका थिए। रिउबजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए। तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ। यहाँका उत्पादन नेपाली बजारमा पुर्‍याउन भौगोलिकरूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयवासी बताउँछन्।
 
यता ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले सङ्कलन गरेको चिराइतोलगायतका जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो। अहिले झापाको विर्तामोड हुँदै अन्यत्र निर्यात हुन थालेको छ। कोभिड-१९ सँगै बन्द भएका अन्य क्षेत्रका नाका खुले पनि टिपताला नाका अझै बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ। सरकारले यसरी लामो सयमदेखि बन्द रहेको नाका खोल्न पहल गरिदिए जीवनयापनमा सहज हुने उनीहरु बताउँछन्।
 
सदरमुकाम फुङ्लिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झण्डै दुई दिन लाग्छ। फुङ्लिङबाट साविकको लेलेपसम्म सवारीसाधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ। ओलाङ्चुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन। यता याङ्मा, घुन्सा र थुदाम पुग्न दुईदेखि तीन दिन लाग्छ। ओलाङ्चुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन्। रासस

images
images


प्रकाशित : शुक्रबार, माघ १३ २०७९०५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend