सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

६६ वर्षमा पनि बनेन कान्ति लोकपथ, सरकारसँग छैन अहिलेसम्म भएको खर्चको हिसाब

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
६६ वर्षमा पनि बनेन कान्ति लोकपथ, सरकारसँग छैन अहिलेसम्म भएको खर्चको हिसाब

पहिलो ठेक्का अन्तर्गत हेटौँडाको बुद्ध चोकलाई जिरो मानेर ५७ किलोमिटरदेखि ६४ सम्म सात किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ। यसमध्ये करिब दुई  किमी सम्पन्न भइसकेको छ।

काठमाडौं- काठमाडौंलाई हेटाैँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो। तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन। आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन। 

सडक निर्माण गर्न नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो भने २०१६ सालमा सकिएको थियो। ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए। राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ। 

कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न सकेको देखिन्न। कान्तिलोकपथ आयोजनाका प्रमुख सुरेश न्यौपाने पुरानो ठेक्का सम्पन्न नहुँदा र राज्यले उचित ध्यान नदिँदा नयाँ काम हुन नपाएको बताउँछन्। 'पुराना ठेक्काका काम द्रुतगतिमा भइरहेका छन्', उनले भने, 'अर्थ मन्त्रालय समक्ष बहुवर्षीय ठेक्का हुने गरी ६६ करोड रुपैयाँको योजना सहमतिका लागि पठाएका छौंँ। योजना आयोगबाट पनि सिफारिस भइसकेको छ।' उनका अनुसार अर्थ मन्त्रालयले सहमति दिए डेढवर्षभित्र कान्तिलोकपथ ‘डवल लेन’सहित सञ्चालन हुनेछ।  

कान्ति लोकपथ आयोजनाका इञ्जिनियर रबीन्द्र महर्जनका अनुसार अहिले दुईवटा पुरानो ठेक्काको काम भइरहेको छ। पहिलो ठेक्का अन्तर्गत हेटौँडाको बुद्ध चोकलाई जिरो मानेर ५७ किलोमिटरदेखि ६४ सम्म सात किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ। यसमध्ये करिब दुई  किमी सम्पन्न भइसकेको छ।

उनका अनुसार बिरुवा एसएल सुनकोसी कन्ट्रक्सनले १९ करोड ३९ लाख ८३ हजार आठ सय ६४ मा लागतमा काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७२/७३ मा सम्झौता गरेको थियो। विसं २०७३ साउन १६ मा सम्झौता भएको यो ठेक्काको अन्तिम पटक २०७९ चैत ३० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको इञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए। 

त्यस्तै दोस्रो ठेक्का अन्तर्गत ग्याबिन भर्ने, मेसिनरी वाल लगाउने, ढलान लगायतका स्ट्रक्चर बनाउने र टालटुल गर्ने काम भइरहेको छ। यसका लागि नागार्जुन सर्वशक्ति जेभी, लिटी कालिका कन्ट्रक्सन एण्ड सप्लायर्स, एटलान्टिक नेपाल, थोदुङर विकास एण्ड ब्रदर्श जेभीले काम गरिरहेको उनको भनाइ छ। 

सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र सकिए पनि अझै केही ठाउँमा कालोपत्र गर्न बाँकी रहेको कान्ति लोकपथ योजनाले जनाएको छ। मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी इञ्जिनियर महर्जनले बताए। रासस 


प्रकाशित : बिहीबार , माघ १२ २०७९१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend