आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

काठमाडौंको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ११ २०७९
काठमाडौंको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

काठमाडौं- काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ। नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा हुने विद्युत् विच्छेद जस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो। 

प्राधिकरणले आगामी ३० वर्षसम्मको काठमाडौं उपत्यकाभित्रको बिजुलीको मागलाई सहजतापूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौंमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताए। 

यस्तै उनले नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाउने घोषणा गरिसक्नुभएको छ। सोही क्रममा काठमाडौं उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो तथा गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सवस्टेशन निर्माण गर्न लागिएको हो। प्रसारण पूर्वाधार तथा सवस्टेशनको अभावमा काठमाडौंमा बाध्यकारी रुपमा लोडसेडिङ हुनसक्ने अवस्थाको सिर्जना भएको प्राधिकरणको भनाइ छ। 

उपत्यकाभित्र कूल ६६ केभीदेखि दुई सय २० केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेशन निर्माण गर्नुपर्ने प्राधिकरणको भनाइ छ। यस्तै विद्यमान प्रसारण लाइन तथा सवस्टशेनको संरचनागत सुधार, स्तरोन्नति एवम् विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको छ। 

यही क्रममा साविकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुङ्गा गाविसको वडा नं ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ।

सो सवस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिमा प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ। जग्गा प्राप्ति ऐन, २०३४ को दफा नौ अनुसार कूल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ। रासस


प्रकाशित : बुधबार, माघ ११ २०७९०८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend