सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नारायणगढ-बुटवल सडक विस्तारमा प्रगति न्यून

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ११ २०७९
नारायणगढ-बुटवल सडक विस्तारमा प्रगति न्यून

क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ। सडक विस्तारको काम सक्नुपर्ने समय सीमाभित्र अझै पनि सडकको अवरोध नहटेको निर्माण पक्षको भनाइ छ।

नवलपुर- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ। गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ।

चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड-१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो।

'सुरुवाती अवस्थामा उपकरण परिचालन, रुख कटानमा निकुञ्ज र वनबाट स्वीकृति आउन ढिलाइ, बिलुजीको पोल सार्न ढिलाइ भयो', उनले भने, 'जिल्लाका क्रसर उद्योग बन्द हुँदा सडक विस्तारको काम प्रभावित बनेको छ।' निर्माण कम्पनीले राम्रोसँग काम गर्न नपाउँदा सडक विस्तारको काममा ढिलाइ भइरहेको पार्कले बताए। 

क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ। सडक विस्तारको काम सक्नुपर्ने समय सीमाभित्र अझै पनि सडकको अवरोध नहटेको निर्माण पक्षको भनाइ छ। 'अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशतमात्रै सकिएको छ', पार्कले भने, 'विद्युत् पोल सार्ने काम ३० प्रतिशतमात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको छ।'

निर्माण कम्पनीका नेपालस्थित प्रतिनिधि सु यानले आयोजनाको म्याद करिब एक वर्ष थप भएको भन्दै त्यो समयसम्म ५० प्रतिशत प्रगति हासिल गरिने बताए। 'यहाँका जनताको गुनासो र पीडाबारे हामी अवगत छौँ, हामीले कामलाई तीव्रता दिएका छौँ', यानले भने। हालसम्म नारायणगढ-बुटवल सडकको प्याकेज-१ मा २२ प्रतिशत र प्याकेज-२ मा २३ प्रतिशत काम भएको छ। गैँडाकोटमा एक सय १० मिटर परीक्षण कालोपत्र तथा विभिन्न ठाउँमा ठूला तथा साना पुल निर्माणलाई तीव्रता दिइएको छ। 

नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जीनियर रमेश दिष्टीले निर्माण कम्पनीलाई काम चाँडो गर्न निरन्तर ताकेता गरिरहेको बताए। 'समयमा काम सक्नका लागि कामदार थप्नुपर्ने, यान्त्रिक उपकरण बढाउनुपर्ने भएकाले हामीले त्यसैअनुरुप दबाब दिँदै आएका छौँ', उनले भने। अहिले गैँडाकोटबाट डण्डासम्म सडक विस्तारको काम भइरहेको छ। सडकको मापदण्डभित्र पर्ने संरचना हटाउने तथा रुख काट्ने काम सकिन लागेको छ। 

दुई प्याकेजमा निर्माण भइरहेको एक सय १४ किलोमिटर लामो नारायणगढ-बुटवल सडकखण्डको प्याकेज-१ मा ६५ तथा प्याकेज-२ मा ४९ किलोमिटर सडक पर्दछ। प्याकेज-१ को लागत नौ अर्ब १५ करोड ७२ लाख तथा प्याकेज-२ को लागत सात अर्ब ८६ करोड ३२ लाख छ। एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तार भइरहेको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, माघ ११ २०७९०४:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend