शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

बीस रुपैयाँमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर 

मंगलबार, माघ १० २०७९
बीस रुपैयाँमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर 

विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे।

महेन्द्रनगर- विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे। भारतसित सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरुआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गर्नुपरर्‍यो।

महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुंगा) ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए।

दोधारा चाँदनीमा झोलुङ्गे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा २० वर्षभन्दा बढी समय खर्चिएका ७४ वर्षीय भीमबहादुर सिंह अहिलेको विकास देख्न आश्चर्य मान्छन्। विसं २०३५ देखि लगातार २० वर्ष महाकालीमा किस्ती चलाएका सिंहले महिनाभरि किस्ती चलाएपापत पारिश्रमिक २० रुपैयाँ लिएर काम गरेको विगत सुनाए।

‘वनबासाबाट आउन जान भारतीय थिचोमिचोभन्दा पनि बैलबन्द सामुदायिक वन क्षेत्रमा डाका लाग्थे’, उनले ‘त्यो बेला तत्कालीन चाँदनी गाविसबाट ठेक्का प्रक्रियाबाट किस्ती चल्थ्यो।’ उनले ठेकेदारले किस्ती सञ्चालनका लागि वार्षिकरूपमा ठेक्का लिए पनि किस्ती सञ्चालनको मुख्य जिम्मेवारी भने आफूले नै सम्हालेको बताए।

‘वर्षात्को उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन’, उनले भने, ‘त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ।’ तत्कालीन दोधारा र चाँदनी गाविस जोडिएर बनेको दोधारा चाँदनी नगरपालिका अहिले पनि नदीनालाबाट घेरिएको भए पनि सडक, पुललगायतका संरचना निर्माणले समस्याबाट टाढा छ।

‘ओदाली (भीमदत्त नगरपालिकातर्फ) बाट सवारी र सामान राखेर अहिले झोलुङ्गे पुल भएको ठाउँमा झार्थेँ’, सिंहले भने, ‘किस्ती ठेकेदारको तलब थोरै भए पनि कमिसनले घर खर्च चलिहाल्थ्यो।’ उनका अनुसार त्यो बेला महाकालीमा एउटा ठूलो र अर्को सानो गरी दुईवटा किस्ती चल्थे। किस्ती चलाउन आफूसहित चार जनाको टोली हुने गरेको उनले बताए। ‘प्रतिव्यक्ति महाकाली तारेको रु पाँच भाडा थियो’, उनले भने, ‘सहयोगीसहित चार जनाको टोली भए पनि मुख्य चालक म नै थिएँ।’

उनले किस्तीमा ४०–४५ क्विन्टलसम्म सामान तारेको सुनाए। ‘यहाँ गहुँ पिसाउन हिँडेर वनबासा जानेदेखि पानीका लागि कुवा खनेर प्यास मेटाइन्थ्यो’, उाले भने, ‘झोलुङ्गे पुल बनेपछि किस्तीको काम सकियो।’ हिउँदमा महाकाली नदी हिँडेर वारपार गर्ने दोधारा चाँदनीवासी अहिले सुदूरपश्चिमको आर्थिक स्मृद्धिको ढोकामा छन्।
 
यहाँ चार लेनको पक्की मोटरेबल पुलदेखि दोधादा चाँदनी नगरपालिका–१ मा सुक्खाबन्दरगाह प्रस्तावित भएर काम प्रक्रियामा अघि बढेको छ। किस्तीको ठेक्का हुँदा तत्कालीन चाँदनी गाविसमा चार/पाँच हजार रुपैयाँमा वार्षिक ठेक्का हुँदै सुरु भए पनि पछि गरेर एक/डेढ लाख रुपैयाँसम्म रकम वार्षिक रूपमा संकलन गर्ने गरी ठेक्का हुने गरेको उनको भनाइ छ। ‘वर्षात्मा स्थानीयवासी महाकालीको भेल देखेर किस्ती चढ्न धेरै डराउँथे पनि’, उनले भने, ‘दोधारा चाँदनीको व्यापार नै किस्तीको भरमा हुन्थ्यो।’

दैनिक एकपटकमात्रै किस्ती महाकालीमा चल्ने गरेको भए पनि स्थानीयवासीलाई धेरै सहज भएको सिंहको भनाइ छ। ‘किस्तीमा पानी भरिँदा सफा गर्नेमात्रै दुई जना हुन्थे’, उनले भने, ‘महाकाली तार्न यहाँ दुईवटा घाट बढी सञ्चालनमा थिए।’

महाकाली नदीमा विसं २०५८ मा झण्डै डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी मूलधारसित जोडिनु पुगेको थियो। पछिल्लो समय सडक सञ्जालको व्यापक निमार्णदेखि महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँचमार्ग बनेपछि दोधारा चाँदनीको स्वरुपमै परिर्वतन आएको छ। यहाँ कौडीको भाउमा बिक्री हुने जमिन अहिले करोड रकममा बिक्री वितरण हुँदैछ ।

‘त्यो बेला साइकल नहुने दोधारा चाँदनीमा अहिले घरैपिच्छे मोटरसाइकल छन्’, उनले भने, ‘मुलुकको व्यवस्था फेरिएसँगै विकासले फड्को मारेको दोधारा चाँदनीले पनि हो। रासस


प्रकाशित : मंगलबार, माघ १० २०७९०४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend