आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

रुकुमगाड जलविद्युत : काम सकियो, परीक्षण बाँकी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ८ २०७९
रुकुमगाड जलविद्युत : काम सकियो, परीक्षण बाँकी

रुकुमगाड जलविद्युत् आयोजनाको लागत खर्च १ अर्ब ३० करोडको हारहारीमा रहेको आयोजनाले जनाएको छ। सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुवातमा आएर सकिएको छ। 

रुकुम- रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो। अब परीक्षण बाँकी छ। आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो।

आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावरहाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केही पछि धकेलिएको कन्स्ट्रक्सनले जनाएको छ। यही माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कन्स्ट्रक्सनले इलेक्ट्रोमेकानिकलअन्तर्गतको केही काम बाँकी रहँदा परीक्षणकार्यलाई दुई सातापछि धकेलिएको कन्स्ट्रक्सनका वरिष्ठ आयोजना प्रबन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिए। 

उनका अनुसार पवरहाउसभित्रको दुईवटा युनिट, युनिट वान र युनिट टुमा ड्राफ्ट ट्युब फिक्स गर्नका लागि गरिएको कङ्क्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तीमा सात दिन लाग्ने भएको छ। त्यसपछि दुवै युनिटमा इलेक्ट्रोमेकानिकलअन्तर्गतको दुईवटा रनर, दुईवटा सफ्टसिल जोेड्नुपर्ने काम बाँकी हुँदा बाँधबाट पेनस्टक हुँदै पानी भर्ने काम केही समयपछि सरेको छ।

यति काम सकिएको खण्डमा माघको २० गतेको आसपास आयोजनाको परीक्षण कार्य सुरु गरिने वरिष्ठ आयोजना प्रबन्धक त्रिपाठीले बताए। रुकुमगाड जलविद्युत् आयोजनाको लागत खर्च १ अर्ब ३० करोडको हारहारीमा रहेको आयोजनाले जनाएको छ। सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुवातमा आएर सकिएको छ। 

बीचमा कोभिडको कारण काममा केही असर परेको थियो। रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ। यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, माघ ८ २०७९०४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend