सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रूख कटानको आदेश पर्खाइमा महाकाली करिडोर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २५ २०७९
रूख कटानको आदेश पर्खाइमा महाकाली करिडोर

पहिलो प्याकेजको डडेल्धुरामा पर्ने चार किलोमिटर क्षेत्रमा मात्रै रूख कटानको आदेश आएपछि निर्माण कम्पनीले सो क्षेत्रमा रूख कटान र सडकको ट्र्याक खोल्ने काम अघि बढाएको छ।

महेन्द्रनगर- साढे १२ वर्षअघि सुरु भएको महाकाली करिडोर सडक निर्माण योजनाले अझै रूख कटानको पूर्ण आदेश पाउन सकेको छैन। नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको अधिकांश काम वनको रूख कटानको आदेश नआउँदा प्रभावित बनेको छ।

सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य विन्दुमा ट्र्याक खोल्न डेढ वर्षअघि पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि सो क्षेत्रको कञ्चनपुरको भूभागमा पर्ने ११ किलोमिटर क्षेत्रफलमा रूख कटानको आदेश नआउँदा काम नै सुरु हुन सकेको छैन।

पहिलो प्याकेजको डडेल्धुरामा पर्ने चार किलोमिटर क्षेत्रमा मात्रै रूख कटानको आदेश आएपछि निर्माण कम्पनीले सो क्षेत्रमा रूख कटान र सडकको ट्र्याक खोल्ने काम अघि बढाएको छ। महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इन्जिनियर योगेन्द्र अधिकारीले आयोजनाअन्तर्गत बैतडी, दार्चुला र डडेल्धुरामा निर्माणको काम भइरहेको बताए।

'डडेल्धुरामा दुईवटा प्याकेजमा गरी १४ किलोमिटर क्षेत्रमा रूख कटानको आदेश वनबाट आएर काम अघि बढेको छ', इन्जिनियर अधिकारीले भने, 'धेरै ठाउँको ट्र्याक खोल्ने काम वनको कटान आदेश नआउँदा अघि बढेको अवस्था छैन।' उनले वनको कटान आदेश दिनुअघि वन डिभिजन र प्रदेश वन कार्यालयबाट अनुगमनपश्चात् मात्रै आदेश पाउने प्रावधान रहेको बताए।

'जिल्लाको वन डिभिजन कार्यालयले करिडोरअन्तर्गत रूख कटान क्षेत्रको अनुगमन गरिसक्यो', अधिकारीले भने, 'अब यो साताभित्रै प्रदेश वनबाट अनुगमन आएर कटान आदेश दिने तयारी रहेको सुनिएको छ।'

उता ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि काम गर्ने वातावरण नभएपछि निर्माण व्यवसायीले निराशा पोखेका छन्। करिडोरको पहिलो प्याकेज कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रूख कटान गर्नुपर्ने छ भने डडेल्धुरामा १० हजार चार सय ७६, बैतडीमा चार हजार पाँच सय ९६ र दार्चुदामा दुई हजार ४२ रूख कटान गनुपर्ने सडक योजना कार्यालयले जनाएको छ। त्यसका लागि वन विकास कोषमा कार्यालयले रु ५७ करोड रकम जम्मा गर्नुपर्ने हुन्छ।

'३७ करोड रकम कोषमा हामीले जम्मा गरिसकेका छौँ', इन्जिनियर अधिकारीले भने, 'बाँकी रकम तिर्नका लागि सडक विभागमा रकम माग गरिसकेका छौँ।' योजनाअन्तर्गत डडेल्धुरामा ५४ किलोमिटर सडक ट्र्याक खोल्नुपर्नेमा २२ किलोमिटर खोलिएको छ भने बैतडीमा ७० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर सडक ट्र्याक खुलिसकेको छ। दार्चुलामा दुई सय किलोमिटरमध्ये ७८ किलोमिटर ट्र्याक खोल्ने कामको जिम्मेवारी नेपाली सेनाले पाएअनुरुप सेनाले कामलाई गति दिएको छ। चार सय २५ किलोमिटर लामो करिडोरको काम रूख कटानको प्रक्रियागत ढिलाइले गति पाउन सकेको छैन।

त्यसैगरी यहाँका प्रमुख राजनीतिक दलले ब्रह्मदेवसम्मको करिडोरलाई यहाँ महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसित जाडेर यहाँको दोधारा चाँदनीलाई मुख्य आर्थिक नाका बनाउने विषय आफ्नो एजेन्डा बनाउँदै आएका छन्। पक्की पुलपारि दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव भएअनुरुप प्रक्रिया अघि बढेको छ भने चालु आर्थिक वर्षमा सरकारले एक अर्ब बजेटसमेत विनियोजन गरेको छ।

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि दोधारा चाँदनीलाई त्रिदेशीय एवं आर्थिक नाकाका रूपमा विकास गर्ने विषय दलीय प्राथमिकतामा परेको थियो। दोधारा चाँदनीको सुक्खा बन्दरगाह जोड्न भारतले पनि आफ्नो क्षेत्रमा पहुँच मार्ग निर्माण अघि बढाएको छ। भारतको सीमावर्ती चक्रपुरमा राष्ट्रिय राजमार्गदेखि नेपाल-भारत सीमासम्म करिब चार किलोमिटर पहुँच मार्ग निर्माण भारतले अघि बढाएको हो। रासस


प्रकाशित : सोमबार, पुस २५ २०७९११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend