सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण आगामी वर्षदेखि

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १७ २०७९
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण आगामी वर्षदेखि

जगदुल्ला गाउँपालिका-१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका-४ इलमा पानी खसालेर विद्युत् एक सय छ मेगावाट विद्युत् उत्पादन हुने छ।

जाजरकोट- जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ। आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेको छ। आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए। 

दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि डिपिआर सम्पन्न भइसकेको सापकोटाले बताए। अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ। आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए। विद्युत् उत्पादनगृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादनगृहलगायतका ठाउँमा पूर्वाधारका काम भइरहेको उनले बताए। 

त्यस्तै आयोजना निर्माण गर्न  एक वर्षभित्र ठेकेदार र परामर्शदाता छनोटको काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ। निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन हुने आयोजना प्रमुख सापकोटाले दाबी गरे। जगदुल्ला गाउँपालिका-१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका-४ इलमा पानी खसालेर विद्युत् एक सय छ मेगावाट विद्युत् उत्पादन हुने छ।

आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ। सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ। त्यस्तै कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत सेयर रहेको छ।  बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ।  

२० अर्ब लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक एक करोड २० लाख आम्दानी हुने कम्पनीले जनाएको छ। आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ। विसं २०७४ जेठ १६ गते कम्पनी स्थापना गरिएको थियो। 

प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेवापत ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अघिल्लो वर्ष भुक्तानी गरिसकेको छ। यही ठाउँमा ८३ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययनको कामसमेत सुरु भएको छ। रासस


प्रकाशित : आइतबार, पुस १७ २०७९०४:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend