सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतले थप दुई आयोजनाको बिजुली खरिद गर्ने, अब ४५२ मेगावाट बिजुली नेपालबाट निर्यात

मंगलबार, पुस १२ २०७९
भारतले थप दुई आयोजनाको बिजुली खरिद गर्ने, अब ४५२ मेगावाट बिजुली नेपालबाट निर्यात

काठमाडौं- भारतले नेपाल विद्युत प्राधिकरणलाई थप दुईवटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ। भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको हो।

अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन्। प्राधिकरणले भारतमा विद्युत निर्यात गरेर ७ महिनामा ११ अर्बभन्दा बढी आम्दानी गरेको थियो। प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत भारत निर्यात गरेको थियो।

प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म विद्युत निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणले आउने वर्ष २० अर्ब निर्यातको लक्ष्य लिएको छ। प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत भारतलाई बिक्री गरेको हो। प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो। 

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ। यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा पनि योगदान पुगेको छ। 

सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि गत जेठ २७ बाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा ३ सय ६४ मेगावाट भारतीय बजारमा विभिन्न दरमा बिक्री गरिएको थियो। 

प्राधिकरणले गत कात्तिक १८ र ३० देखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो। योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट बराबर पुगेको थियो।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको थियो। चालु आवको पुस ३ सम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार आर्जन गरेको छ। 

आइएक्समा विद्युत खरिद बिक्रीका लागि २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ। प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा छ।


प्रकाशित : मंगलबार, पुस १२ २०७९११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend