बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चितवनमा अटोमोबाइल व्यवसायीको भेला सम्पन्न, दोस्रो चरणको आन्दोलनबारे समेत छलफल

सोमबार, पुस ११ २०७९
चितवनमा अटोमोबाइल व्यवसायीको भेला सम्पन्न, दोस्रो चरणको आन्दोलनबारे समेत छलफल

नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलन घोषणा गरेर मंसिर २२ गते काठमाडौंलगायत सात वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो।

काठमाडौं- चितवनमा अटोमोबाइल व्यवसायीहरूको २ दिने बृहत भेला तथा १३औं केन्द्रीय कार्य समितिको बैठक सकिएको छ। पुस ८ र ९ गते चितवनको पार्क सफारी रिसोर्टमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनकाबीच अन्तरक्रिया तथा छलफल सकिएको हो।

कार्यक्रममा नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको संभावना लगायत विषयमा छलफल भएको थियो। कार्यक्रममा नाडाका पूर्वअध्यक्षहरूसमेत उपस्थिति थिए 

कार्यक्रममा बैंकहरूको उच्च ब्याजदर लगायत चालु पुँजी कर्जा लागु गरेको, जोखिम भार र एलसी मार्जिन लगायतका विषयहरूलाई प्राथमिकता दिँदै छलफल गरिएको थियो।

उक्त कार्यक्रममा नाडाका पूर्वअध्यक्षहरू रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले व्यवसायीहरूलाई मार्गदर्शन गर्दै नाडाले सुरू गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे चर्चा गरेका थिए। त्यस्तै छलफलमा योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेलले अटोमोबाइल व्यवसायको वर्तमान अवस्था र अर्थतन्त्रबारे प्रस्तुतीकरण दिएका थिए। 

कार्यक्रममा व्यवसायीहरू दोश्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुवैलाई एकैसाथ अघि बढाउने निर्णयसमेत गरेको छ। साथै व्यवसायीहरूले राखेको माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेको छ। 

नाडाको प्रदेश नं १ अन्तर्गत रहेको मोरङ अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेष प्रदेशको जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तेज नारायण साह, बागमती प्रदेशको चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटौडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष दामोदर प्रसाद अटल, गण्डकी प्रदेशको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशको लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एसोसिएसन नेपालका अध्यक्ष भद्र भण्डारी र सुदूर-पश्चिम प्रदेशको सुदुर-पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष पुष्करराज ओझाले आन्दोलनका सम्बन्धमा आ-आफनो धारणा व्यक्त गरे। 

छलफलमा सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लेखित समस्याहरूका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसक्ने विषय उठेको थियो। यसैले गर्दा अटोमोबाइल्स  व्यवसायीहरू धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरूले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाले जनाएको छ।  

नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलन घोषणा गरेर मंसिर २२ गते काठमाडौंलगायत सात वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो। नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापती सुनिल रिजालले व्यवसायीहरूले गर्ने भनिएको दोश्रो चरणको आन्दोलनको ढाचाँबारे जानकारी दिएका थिए। नाडाले दोस्रो चरणको आन्दोलन कहिलेदेखि गर्ने भन्नेबारे भने केही खुलाएको छैन। 


प्रकाशित : सोमबार, पुस ११ २०७९०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend