बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

१५ लाखभन्दा कम मूल्यमा १७० एमएम ग्राउन्ड क्लियरेन्स भएको विद्युतीय कार नेपाल आउने निश्चित

जीओ अटोमोबाइलले ल्याउने, बैशाखसम्म बजारमा आइसक्ने

आइतबार, पुस १० २०७९
१५ लाखभन्दा कम मूल्यमा १७० एमएम ग्राउन्ड क्लियरेन्स भएको विद्युतीय कार नेपाल आउने निश्चित

काठमाडौं- विद्युतीय कारप्रति उपभोक्ताको चासो बढेसँगै विभिन्न ब्रान्डका कार आउनेक्रम बढेको छ। सस्तो मूल्यमा विद्युतीय कार खोजी गर्ने उपभोक्ताको संख्या दिनदिनै बढ्दै गएको छ। उपभोक्ताको त्यही चासोलाई सम्बोधन गर्ने गरि १५ लाख रुपैयाँभन्दा कम मूल्यमा उच्च ग्राउन्ड क्लियरेन्स भएको विद्युतीय कार नेपाल आउने निश्चित भएको छ। 

भारतीय कम्पनी पीएमभी (पर्सनल मोबिलिटी भेहिकल) इलेक्ट्रिकले उत्पादन गरेको उच्च प्रविधियुक्त सिटी कार नेपाली बजारमा आउने भएको हो। गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइलले उक्त स्टार्टअप कम्पनीले उत्पादन गरेको ईएएस-ई टू नामक विद्युतीय कार ल्याउने तय भएको छ।

पीएमभी इलेक्ट्रिक र जीओ अटोमोबाइलबीच उक्त कार नेपालमा अधिकारिक रुपमा भित्र्याउने सम्झौता समेत भइसकेको कम्पनी स्रोतको भनाइ छ। यो पीएमभीको ईएएस-ई टू विद्युतीय कार नेपाली बजारमा १२ देखि १५ लाख रुपैयाँसम्ममा उपलब्ध हुने विश्वास कम्पनीको छ। 

भारतमा गएको महिना सार्वजनिक भएको सो कार उत्पादनको क्रममा रहेकाले आगामी अप्रिल अर्थात बैशाखसम्ममा नेपाली बजारमा आइपुगिसक्ने छ। भारतमा कारको सबै पक्षको परीक्षण सफलतापूर्वक भएको र उक्त कार नेपालको सहरी बाटोका लागि निक्कै उपयोगी सावित हुनेछ। 

यो सिटी/माइक्रो कारको डिजाइन भने निक्कै बोल्ड रहेको छ। कारमा लामो आकारको स्टाइलिस टेललाइट, सार्प अलोय ह्वील, मस्कुलर अल्फा फ्रन्ट ग्रिल, डुअल एलईडी हेडलाइटमेन ट्वीन सिक्नेचर लाइटलगायत विशेषता हुनेछ। 

pmv ev.PNG

यो कारको अगाडिको मध्य भागमा स्टेरिङ रहेको छ। अगाडि एक र पछाडि दुई गरि यो कारमा ३ जनाले आरामदायी रुपमा यात्रा गर्न सक्नेछन्। कारको इन्टेरियरको कुरा गर्दा फराकिलो स्पेस, डिजिटल स्पिडोमिटर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्मार्ट सिफ्ट, क्लिन ड्यासबोड, यूएसबी फोन चार्जिङलगाय रहेको छ। 

पीएमभी ईएएस-ई टू विभिन्न ३ ड्राइभिङ रेन्जमा उपलब्ध हुनेछ। ईएएस-ई टू १ सय २० किलोमिटर, १ सय ६० किलोमिटर र २ सय किलोमिटर रेन्ज सिंगल चार्जमा दिनेछ। यो कारको उच्च गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ। 

ईएएस-ई टू विद्युतीय कारमा हाइली इफिसियन्ट पीएमएसएम मोटर रहेको छ। यो कारको अर्को महत्वपूर्ण पक्ष भनेको ग्राउन्ड क्लियरेन्स हो। ईएएस-ई टूमा १ सय ७० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको छ। त्यस्तै कम्पनीले कारमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराएको छ। 

ईएएस-ई टू कारको मुख्य विशेषताहरू

लेन्थ : २९१५ एमएम

वाइड : ११५७ एमएम

हाइट : १६ सय एमएम

ह्वीलवेस : २०८७ एमएम

कर्व वेइट : ५५० केजी

ग्राउन्ड क्लियरेन्स : १७० एमएम

अधिकतम गति : ७० किलोमिटर प्रतिघण्टा

PMV-EaS-E-micro e.PNG

यो कार सस्तोमा विद्युतीय कार खोज्ने र सहरी क्षेत्रमा चलाउन चाहनेका लागि असाध्यै उपयोगी हुनेछ। विभिन्न ब्रान्डका सिटी कार नेपालमा उपलब्ध भएपनि तिनीहरूको तुलनामा यो कार निक्कै सस्तो मूल्यमा आउने र अकर्षक डिजाइनको रहेको छ। सहरी क्षेत्रमा पार्किङको समस्या हुने ठाउँमा यो कार सहजै पार्किङ गर्न सकिनेछ। छरितो डिजाइनसहित अत्याधुनिक विशेषता कारमा रहेका छन्। 

ईएएस-ई टू विद्युतीय कारमा क्रुज कन्ट्रोलदेखि रिमोट पार्किङ असिस्ट सुविधासम्म उपलब्ध हुनेछन्। त्यस्तै सानो कार भएपनि यसमा रेयर भ्यू क्यामेरा, रिमोट किलेस इन्ट्री, पावर विन्डोलगायत विशेषता रहेका छन्। यो कार ४ घण्टाभन्दा कम समयमा फुल चार्ज गर्न सकिनेछ। 


प्रकाशित : आइतबार, पुस १० २०७९०४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend