बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको रिसेन्स ब्रान्डको विद्युतीय कार हिँड्यो नेपालतर्फ 

३ सय किलोमिटर रेन्ज दिने ४ सिटे कारको मूल्य २५ लाख

बिहीबार , पुस ७ २०७९
२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको रिसेन्स ब्रान्डको विद्युतीय कार हिँड्यो नेपालतर्फ 

४ सिट क्षमताको यो कारमा २३ केडब्लूएचको ब्याट्री प्रयोग गरिएको छ। त्यस्तै आरएस ३५० डीले १ सय ३५ एनएम टर्क जेनेरेट गर्ने दाबी कम्पनीले गरेको छ।

काठमाडौं- विद्युतीय कार प्रति उपभोक्ताको चासो र खरिद गर्ने ‘ट्रेन्ड’ बढेसँगै विभिन्न ब्रान्डका विद्युतीय कार नेपाल आउने क्रम बढेको छ। यस्तैमा अर्को एउटा ब्रान्डको कार नेपाल आएको छ। 

चिनियाँ ब्रान्ड रिसेन्सका विद्युतीय कार प्लान्टबाट नेपालतर्फ हिँडिसकेको छ। यो ब्रान्डको विद्युतीय कार जिमिनी इनकर्पोरेटेड प्रालिले आधिकारिक बिक्रेताको रुपमा नेपाल ल्याएको हो। सुरुवातमा कम्पनीले रिसेन्सको आरएस ३५० डी मिनि विद्युतीय कार ल्याउन लागेको हो। 

यो कारको सबैभन्दा राम्रो पक्षका रुपमा २ सय ३० एमएमको ग्राउन्ड क्लियरेन्स र ३ सय किलोमिटर रेन्ज रहेको छ। ४ सिट क्षमताको यो कारमा २३ केडब्लूएचको ब्याट्री प्रयोग गरिएको छ। त्यस्तै आरएस ३५० डीले १ सय ३५ एनएम टर्क जेनेरेट गर्ने दाबी कम्पनीले गरेको छ।

आरएस ३५० डीको अर्को महत्वपूर्ण कुरा भनेको यसमा ३ सय वाटको सोलार प्यानल समेत रहेको छ। सामान्य अवस्थामा यो सोलार प्यानलले ३० प्रतिशतसम्म पावर सेभ गर्छ। १४ इन्चको टायर रहेको यो कार ४५ डिग्रीसम्मको चढाइमा सजिलै जाने क्षमता राख्ने कम्पनीले जिकिर गरेको छ। 

यो कार सामान्य चार्जरबाट घरमै चार्ज गर्दा पनि ४ देखि ५ घण्टामा फुल चार्ज हुन्छ। आम नेपाली उपभोक्ताका लागि उपयुक्त हुने र तुलनात्मक रुपमा सस्तो मूल्यको विद्युतीय कार भित्र्याएको जिमिनी इनकर्पोरेटेडका निर्देशक सुवाष शर्माले बताए। ‘हामीले लामो समय अध्ययन गरेर मोटरसाइकलबाट कारमा जान चाहने र विद्युतीय कार चढ्न चाहने आम मानिस किन्न सक्ने कार ल्याएका हौं,’ शर्माले भने, ‘उत्कृष्ट रेन्ज भएको, शक्तिशाली र नेपाली बाटोका लागि आवश्यक ग्राउन्ट क्लियरेन्स भएको आरएस ३५० डी हामीले उपयुक्त मूल्यमा दिने तयारी गरेका छौं।’ 

Raysince EV.jpeg

विशेषगरि आरएस ३५० डी सिटी कार भएपनि यो कार लिएर सजिलै पोखरा तथा चितवन जान आउन सकिने शर्माले बताए। ‘सिटीका लागि त यो कार उत्कृष्ट नै सावित हुनेछ,’ उनले भने, ‘२ सय ३० एमएमको ग्राउन्ड क्लियरेन्स भएको र ३ सय किलोमिटर रेन्ज दिने हुँदा यो कार लिएर पोखरा तथा चितवनजस्ता गन्तब्यमा सजिलै पुग्न सकिन्छ।’ रेन्ज बढाउन यो कारमा रहेको सोलार प्यानलले सहयोग गर्नेछ। 

सुरुवातमा कम्पनीले १० वटा आरएस ३५० डी कार नेपाल ल्याउँदै छ। नेपाल आउन लागेको १० वटा कार प्लान्टबाट हिँडिसकेको कम्पनीले जनाएको छ। उताबाट नेपालतर्फ हिँडेकाले करिब २ सातामा यहाँ आइपुग्ने कम्पनीका निर्देशक शर्माले बताए। कार प्रति धेरैले चासो दिएकाले पहिलो लट आइपुगेपछि फेरि आउने उनको भनाइ छ।

कम्पनीले यो कारको मूल्य २५ लाख रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ। प्रारम्भिक चरणमा इन्टोडक्टरी प्राइसका रुपमा २५ लाखमै दिने योजना बनाइएको शर्माको भनाइ छ। पहिलो चरणमा कम्पनीले आरएस ३५० डी सिटी कार ल्याएको भएपनि आगामी दिनमा प्रोडक्ट रेन्ज बढाउँदै जाने उनले उल्लेख गरे। 


प्रकाशित : बिहीबार , पुस ७ २०७९०४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend