बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय कारमा टेस्लालाई उछिन्ने गरि टोयोटाले कस्तो बनाउँदै छ योजना

मंगलबार, पुस ५ २०७९
विद्युतीय कारमा टेस्लालाई उछिन्ने गरि टोयोटाले कस्तो बनाउँदै छ योजना

२०२२ को अक्टोबरसम्म टोयोटाले विश्वभर जम्मा १४ हजार ४ सय २१ वटा विद्युतीय कार बिक्री गरेको हो। सोही अवधिसम्म टेस्लालगात अन्य विद्युतीय सवारी निर्माता कम्पनी प्रत्येकले ५ लाखभन्दा बढी विद्युतीय कार बिक्री गरेका थिए। 

काठमाडौं- संसारको सबैभन्दा धेरै कार बिक्री गर्ने जापानी कम्पनी टोयोटाले विद्युतीय कार उत्पादनमा ध्यान नदिएको भन्दै आलोचना हुँदै आएको थियो। शून्य प्रदूषण सवारीमा प्रतिबद्धता नजनाएर टोयोटाले मानव जगतमाथि नै मजाक गरिरहेको आरोप लाग्दै आएको छ। 

तर अब भने टोयोटाले शून्य प्रदूषण सवारीलाई उच्च प्राथमिकता दिने भएको छ। योसँगै उसमाथि लाग्दै आएको आरोप मत्थर हुँदै गएको छ। विश्वका अधिकांश देशमा कार तथा अन्य सवारी बिक्री गर्दै आएको टोयोटाले विद्युतीय सवारी नै अबका आम उपभोक्ताको पहिलो रोजाइमा पर्ने निश्चित भएपछि विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकतामा राखेर विभिन्न योजना अघि सार्न लागेको हो। 

संसारभरका आम उपभोक्ता उदयमान विद्युतीय सवारीकै बजारमा आकर्षित हुन थालेको छन्। यसमा अमेरिकी विद्यूतीय कार उत्पादक टेस्लाले ब्रान्डिङमात्र नभइ उल्लेख्य संख्यामा कारसमेत बिक्री गरिरहेको छ। टेस्लाका कार तुलनात्मक रुपमा महँगो भएकाले भने उपभोक्ताहरू चाहेर पनि किन्न नसकिएकोमा चिन्तित छन्। 

त्यसैलाई मध्यनजर गर्दै टोयोटाले विद्युतीय कारमा टेस्लाभन्दा राम्रो गरि योजनाहरू बनाएको छ। टोयोटाले विद्युतीय कार बनाए आम मानिसले सहजै खरिद गर्न सकिने गरि ल्याउने धेरैको अपेक्षा छ। यसका साथै विद्युतीय कार बिक्री गरेर नाफामा जाने कम्पनीमा टेस्लापछि टोयोटा नै हुने अनुमान धेरैले गरेका छन्। 

टोयोटाले विद्युतीय सवारी सम्बन्धी योजना आगामी जनवरीमा ल्याउँदैछ। कम्पनीले ल्याउने विद्युतीय सवारीबारेको विस्तृत योजनामा २०२६ सम्म आउने विद्युतीय कारका मोडल र अन्य कुरा समावेश हुने बताएको क्लिनटेक्निकाले लेखेको छ। सो योजनामा ब्याट्री, यसको कच्च पदार्थ र अन्य कच्चा पदार्थबारे आपूर्तिकर्ताहरू बलियो आधार बनाउने टोयोटाले जनाएको छ। 

टोयोटाले टेस्लाको तुलनामा सस्तो विद्युतीय कार ल्याउने भएकाले पनि विद्युतीय कार सेगमेन्टमा उसको बजार हिस्सा छिट्टै बढ्ने अनुमान गरिएको छ। टोयोटासँग आर्थिक स्रोत, कच्चा पदार्थ आपूर्तिकर्ताको सञ्जाल तथा उपभोक्ताको ठूलो विश्वास भएकाले त्यस हासिल गर्न केही सहज हुने अनुमान गरिएको छ। 

आइसी इन्जिनयुक्त कारमा मात्र होइन हाइब्रिड कारमा समेत टोयोटा अग्रणी रहेको छ। तर विद्युतीय सवारीमा भने हालसम्म टोयोटाको उपस्थिति सामान्य मात्र छ। टोयोटाले २०२२ मा मात्र आफ्नो पहिलो विद्युतीय कार बीजेडफोरएक्स बजारमा ल्याएको थियो। टोेयोटाको पहिलो विद्युतीय कार आफ्नै ईभी प्लेटफर्ममा बनेको हो जुन सुबारुलाई समेत उपलब्ध गराएको थियो। 

२०२२ को अक्टोबरसम्म टोयोटाले विश्वभर जम्मा १४ हजार ४ सय २१ वटा विद्युतीय कार बिक्री गरेको हो। सोही अवधिसम्म टेस्लालगात अन्य विद्युतीय सवारी निर्माता कम्पनी प्रत्येकले ५ लाखभन्दा बढी विद्युतीय कार बिक्री गरेका थिए। 

यता टोयोटाको हाइब्रिड कारको कथा भने अलि फरक छ। टोयोटाले २०२२ को अक्टोबरसम्मा विश्वभर २२ लाखभन्दा बढी हाइब्रिड कार बिक्री गरेको तथ्यांक छ। ब्याट्रीमा आधारित विद्युतीय कारको माग बढ्दै जाँदा हाइब्रिड कारको बिक्री भने घट्दै गएको छ।

गत वर्षसम्म टोयोटाले अमेरिकामा ब्याट्रीमा आधारित विद्यूतीय कारलाई भन्दा हाइब्रिड कारलाई नै प्राथमिकता दिनुपर्ने नीतिगत लबिङ गरेको रिपोर्टहरू सार्वजनिक भएको थियो। तर अब भने टोयोटा त्यता लबिङमा अल्झिएर नबस्ने संकेत गरेको छ। यसरी अल्झिँदा ब्याट्रीमा आधारित विद्युतीयमा अन्य कम्पनीहरू धेरै नै अघि बढ्ने छन् र विश्व कार बजारमा रहेको आफ्नो लिगेसी गुम्ने बोध टोयोटाले गरिसकेको देखिन्छ। 


प्रकाशित : मंगलबार, पुस ५ २०७९०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend