बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पेप्सीकोले टेस्लाको एक सयवटा विद्युतीय सेमी ट्रक किन्ने

आइतबार, पुस ३ २०७९
पेप्सीकोले टेस्लाको एक सयवटा विद्युतीय सेमी ट्रक किन्ने

टेस्लाले सेमी ट्रकको मूल्य १ लाख ५० हजार अमेरिकी डलरबाट सुरु हुनेगरि तय गरेको छ।

काठमाडौं- अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले विद्युतीय सेमी ट्रक केही दिनअघि पहिलो पटक ग्राहकलाई हस्तान्तरण गरेको थियो। प्रोटोटाइप सार्वजनिक गरेको पाँच वर्षपछि टेस्लाले सेमी ट्रक हस्तान्तरण गरेको थियो र त्यो विद्युतीय ट्रक पेप्सीकोको सहायक खाद्य कम्पनीलाई दिइएको थियो।  

पेप्सीकोले पहिलो हेभी विद्युतीय सेमी ट्रक लिएको केही दिनपछि नै १ सय वटा सेमी ट्रक किन्ने भएको छ। २०२३ भित्र पेस्सीले टेस्लाबाट १ सय वटा सेमी ट्रक किन्ने बताएको रोयटर्सले लेखेको छ। यसका लागि पेप्सीकोले आवश्यक तयारी गरिरहेको जनाएको छ। 

पेप्सीको इंकले २०१७ मै टेस्लाको ठूला विद्युतीय ट्रक सेमी किन्ने गरि अडर गरेको थियो। विद्युतीय कारमा विश्वभर चर्चित टेस्लाले २०१७ मा पहिलोपटक विद्युतीय सेमी ट्रकको प्रोटोटाइप सार्वजनिक गरेको थियो। 

त्यतिबेला टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले २०१९ बाटै उत्पादन सुरु हुने घोषणा गरेका थिए। तर सेमीको पहिलो डेलिभरी भने २०२२ को अन्ततिरमात्र भएको हो। 

टेस्साले यो विद्युतीय सेमी ट्रक अन्य सवारीको तुलनामा केही फरक छ। चालक सिट मध्यभागमा रहेको छ। अन्य सवारीको जस्तो दायाँ बायाँ छैन। टेस्लाले यो ट्रकको प्रदर्शन जीवाष्म इन्धनबाट चल्नेको तुलनामा शक्तिशाली रहेको दाबी छ। चलाउन सरल, शक्तिशाली प्रदर्शन यसको मुख्य विशेषता रहेको मस्कले उल्लेख गरेका छन्। 

एकपटकको चार्जमा ८ सय किलोमिटर चलाउन सकिने दाबी गरिएको यो ट्रकमा तीनवटा विद्युतीय मोटर छन्। यसमा रहेका तीनमध्ये एउटा ब्याट्रीले ट्रक चलाउने र अरु दुईले एक्सिलेरेसन र हार्डपुलिङमा काम गर्छन्। ट्रकले ४० टनसम्म तौल बोकेर गुड्ने दाबी गरिएको छ। 

कम्पनीले यो ट्रकको ब्याट्री चार्ज गर्नका लागि नयाँ चार्जिङ प्रविधिको विकास गरिएको दाबी गरेको छ। कम्पनीका अनुसार यसका लागि नयाँ ‘मेगावाट अल्ट्रा फास्ट चार्जर’ बनाइएको र यसबाट तीब्र चार्ज हुनेछ। ३० मिनेटमा ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले दाबी गरेको छ। 

टेस्लाले सेमी ट्रकको मूल्य १ लाख ५० हजार अमेरिकी डलरबाट सुरु हुनेगरि तय गरेको छ। माग बढ्दै जाँदा टेस्लाले सेमीको उत्पादनसमेत बढाउँदै लगिने बताएको छ। 


प्रकाशित : आइतबार, पुस ३ २०७९०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend