सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

६८३ मेगावाटको सुनकोशी-३ निर्माणको बाटो खुल्यो, १ अर्ब ४५ करोड डलर लाग्ने आयोजनामा बंगलादेशले लगानी गर्ला?

बुधबार, मंसिर २८ २०७९
६८३ मेगावाटको सुनकोशी-३ निर्माणको बाटो खुल्यो, १ अर्ब ४५ करोड डलर लाग्ने आयोजनामा बंगलादेशले लगानी गर्ला?

काठमाडौं- सुनकोशी-३ जलविद्युत आयोजना निर्माणको बाटो खुलेको छ। वन तथा वातावरण मन्त्रालयले ६८३ मेगावाट सुनकोशी-३ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेसँगै निर्माणको बाटो खुलेको हो। 

गत भदौमा सुनकोशी-३ जलविद्युत आयोजनाको लगानी र निर्माण मोडालिटी टुंग्याउन बंगलादेश सहमत भएको थियो। नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोशी-३ अगाडि बढाउन सहमत भएको थियो।

६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश उत्साहितसमेत रहेको छ। काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको यो आयोजनामा बंगलादेशले लगानी गर्नेगरी काम अगाडि बढेको छ। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ।

नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो। बैठकमा पहिलो चरणमा सुनकोशी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो।

विभागले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले कोशी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५मा आयोजनाको पहिचाहन गरेको थियो। जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अद्यावधिक गरिएको थियो।

बीपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सीमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ। आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ। जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोशी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ।

आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरू प्रभावित हुनेछन्। आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुवानमा पर्ने छ। यसका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नु पर्ने छ भने ६ सय ५५ हेन्टर वन क्षेत्रको जग्गा पर्ने छ। आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने अनुमान छ। 

वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने छ।


प्रकाशित : बुधबार, मंसिर २८ २०७९१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend