सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सीमित सवारी र ‘ओभर लोड’ ले यात्रा जोखिमपूर्ण

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २४ २०७९
सीमित सवारी र ‘ओभर लोड’ ले यात्रा जोखिमपूर्ण

दलदलेदेखि उत्तरतर्फ  पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिका जोड्ने मुख्य सडक ‘ट्रयाक’ खोलेको दुई दशक कट्दासमेत कालोपत्रे हुन सकेको छैन ।

त्रिवेणी- यही मङ्सिर १५ गते साँझ दलदलेबाट डेढगाउँका लागि छुटेको जिप धौबादी नजिक दुर्घटनामा पर्यो । दुर्घटनामा परेर चार जनाले ज्यान गुमाए । दशजना घाइते भए । गत कात्तिक १५ गते बुलिङटारमा भएको सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाए । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि यस्ता दुर्घटना हुने गरेका छन् । जसबाट जनधनको क्षति हुने गरेको छ । पहाडी क्षेत्र जाने जीर्ण सडकका कारण पहाडी क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

एकातर्फ जीर्ण सडक त्यसमाथि सीमित सवारी साधन सञ्चालन हुँदा हुने ओभर लोडका कारण यात्रा जोखिम पूर्ण हुने गरेको छ । 'बाटो सारै खराब छ, त्यस माथि सीमित सवारी चल्दा जिपमा यात्रुको चाँप धेरै हुन्छ, डर मानी मानी यात्रा गर्नुपर्ने पहाडका बासिन्दाको बाध्यता बनेको छ', बौदीकालीका स्थानीय गेसबहादुर रानाले भने। 

जिल्लाको  पहाडी क्षेत्र बुलीङ्गटार, पोखरी, रुचाङ्ग, नरम, डेढगाँउ, रनतपुर, डाँडाझेरी, हुप्सेकोट, कोटथरलगायतका बासिन्दा ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । राजमार्ग क्षेत्र गैँडाकोटदेखि दुम्किबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण छ । त्यस माथि सवारीमा यात्रुको चाप धेरै हुँदा यात्रा कष्टकर मात्रै नभई जोखिमपूर्ण हुने गरको बुलिङटारका स्थानीय पूर्ण थापाले गुनासो गरे। 

प्रायः नवलपुरदेखि उत्तर पहाडी क्षेत्रतर्फ छुट्ने सवारीको सिटमा जति यात्रु हुन्छन्, सोही अनुपातमा झुण्डिएर, छतमा बसेर यात्रुले  यात्रा गर्न बाध्य छन् । जीर्ण सडक भएकै कारण धेरै सवारी यो बाटोमा सञ्चालन नभएको यातायात व्यवसायीको भनाइ छ । दलदलेदेखि उत्तरतर्फ  पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिका जोड्ने मुख्य सडक ‘ट्रयाक’ खोलेको दुई दशक कट्दासमेत कालोपत्रे हुन सकेको छैन ।

पहाडी क्षेत्रको मुख्य मार्गको रुपमा हेरिएको कावासोती–बालुवाडाँडा–कोखे सडकखण्ड  निर्माणको काम केही वर्ष अघि थालिएपनि निर्माणले गति लिन सकेको छैन । पहाडी क्षेत्रको मुख्य मार्गको रुपमा रहेको यस सडकखण्डको निर्माणमा ढिलाइ हुँदा बाटोको समस्या जस्ताको त्यस्तै रहेको छ । निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी कम्पनीले समयमा काम सम्पन्न नगर्दा पटक पटक ठेक्काको म्याद थप्ने काम मात्रै भएको छ । जसले गर्दा बाटोको अवस्था जीर्ण रहेको छ । रासस


प्रकाशित : शनिबार, मंसिर २४ २०७९०८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend