बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एक दशकयता पहिलोपटक बढ्यो लिथियम आयन ब्याट्रीको मूल्य, विद्युतीय कारको मूल्य बढ्ला?

आइतबार, मंसिर २५ २०७९
एक दशकयता पहिलोपटक बढ्यो लिथियम आयन ब्याट्रीको मूल्य, विद्युतीय कारको मूल्य बढ्ला?

२०२१ मा लिथियम आयात ब्याट्री प्रति प्याकको मूल्य १३८ अमेरिकी डलर थियो भने २०२२ मा यो बढेर १५१ डलर पुगेको छ। 

काठमाडौं- वर्ष २०२२ सकिने क्रममा छ। विश्वले विद्युतीय सवारीको स्वीकार्यताको पारो उच्च हुँदै गइरहेको छ। तुलनात्मक रुपमा विद्युतीय कारको मूल्यसमेत कम हुँदै आएको छ। 

तर पछिल्लो दशकयता घट्दो क्रममा रहेको लिथियम आयन ब्याट्रीको मूल्य भने पहिलो पटक बढेको छ। कच्चा पदार्थ र ढुवानीको लागत बढेकाले ब्याट्रीको मूल्य वृद्धि भएको हो। फोसिल फ्युल कारको तुलनामा विद्युतीय कारको माग बढ्दा पनि ब्याट्रीको मूल्य बढ्मा कारक रहेको मानिएको छ। विद्युतीय कारको सबैभन्दा ठूलो लागत ब्याट्री उत्पादनमै लाग्छ। 

ब्याट्री लागि चाहिने कच्चा पदार्थको मूल्य बढेको, ब्याट्रीको माग उल्लेख्य रुपमा बढेकाले ठूला ब्याट्री उत्पादकहरू निक्कै प्रेसरमा रहेको ब्लुम्बिर्ग एनईएफका इनर्जी स्टोरेज एसोसिएट्स इभिलिन स्टोइकुको भनाइ छ। ब्याट्रीको लागत बढ्नुको अर्को कारण भनेको प्रत्यक्ष रुपमा भइरहेको खानी उत्खनन् र रिफाइनिरङ प्रोजेक्टमा लगानी हुनु रहेको छ। 

लिथियमको रिफाइनिङ परियोजनामा अपेक्षाकृत लगानी हुन नसक्दा पनि ब्याट्रीको लागत बढी रहेको छ। केही महिनाअघि संसारको सबैभन्दा चर्चित विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका सीईओ एलन मस्कले लिथियमको उत्खनन् जति सहज छ त्यति नै कठीन प्रशोधनमा रहेको बताएका थिए। उनले अघि भनेका थिए, ‘तपाईंले केही गुमाउनु हुन्न (लिथियम प्रशोधन गर्दा), यो पैसा छाप्ने लाइसेन्स हो।’ 

संसारको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक तथा प्रयोगकर्ता देश चीनमा लिथियमको मूल्य उल्लेख्य वृद्धि भएको छ। टेस्लाले समेत राम्रो बजारका रुपमा देखेर उत्पादन प्लान्ट स्थापना गरेको चीनमा यो वर्ष लिथियको मूल्य अघिल्लो वर्षको तुलनामा ४ सय ५० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। 

हाल चीनले विश्वमा प्रशोधन भइरहेको लिथियम मध्ये ५० प्रतिशत एक्लैले प्रशोधन गर्दै आएको छ। अन्य देशहरू लिथियम प्रशोधनमा निक्कै पछाडि रहेको छन्। तर चिली, क्यानडालगायत देशले भने प्रशोधन क्षमता बढाउन व्यापकरुपमा काम गरिहेका छन्। 

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको माग उल्लख्य बढेको तर नियमित वृद्धिको अवस्थालाई समेत नथेग्ने गरी सप्लाई भइरहेको छ। 

२०२१ को तुलनामा ब्याट्री मूल्य ७ प्रतिशतले बढेको छ। २०२१ मा लिथियम आयात ब्याट्री प्रति प्याकको मूल्य १३८ अमेरिकी डलर थियो भने २०२२ मा यो बढेर १५१ डलर पुगेको छ। 

li io price.jpeg

बीएनईएफका अनुसार २०२३ मा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री प्याकको मूल्य सर्वाधिक महँगो हुनेछ। २०२४ पछि भने क्रमिक रुपमा मूल्य घट्दै जानेछ। लिथियमको उत्खनन् र प्रशोधनमा ठूलो धनराशि लगानी भएकाले २०२४ सम्ममा त्यसको परिणाम बजारमा आउनेछ। 

बीएनईएफले २०२२ मै गरेको अर्को अध्ययनअनुसार २०२६ मा पुग्दा प्रति प्याक ब्याट्रीको मूल्य १ सय डलरमा आउने देखाएको छ। तर २०२० मा गरिएका अध्ययनले पनि २ वर्षपछि ब्याट्री प्याकको मूल्य १ सय डलर नै हुने देखाएको थियो। तर अहिले त्यसको ठीक विपरित नतिजा आएको छ। 

विश्वमा २०२१ मा जति विद्युतीय कारको बिक्री भएको थियो त्यसको तेबर बिक्री २०२५ मै हुने अनुमान भइरहेको छ। त्यसैले पनि ब्याट्रीको माग अझै बढ्ने निश्चित छ। ब्याट्री उत्पादनमा गुणात्म वृद्धि नदेखिएकाले मूल्य क्रमिकरुपमा बढ्दै जाने अनुमान छ। 

२०२२ को अन्त्यसम्ममा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको माग ६ सय ३ गिगावट आवर पुग्ने अनुमान गरिएको छ। यो २०२१ को तुलनामा दोबर हो। आगामी वर्ष ब्याट्रीको माग २०२२ को दोबर नै हुने अनुमान छ। 


प्रकाशित : आइतबार, मंसिर २५ २०७९०४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend