सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

१८ मेगावाट मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

सोमबार, मंसिर १९ २०७९
१८ मेगावाट मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ। आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो। 

काठमाडौं-मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ। आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो। 

मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो। करिब रु चार अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले जानकारी दिए। 

निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो। आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ। चौध दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ। 

आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन्। प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए। 

सुरुआतमा रु दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो। विसं २०७१ मा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरे। तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मङ्सिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटकपटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिए। त्यसका कारण लागतसमेत ह्वात्तै बढेको छ। 

विसं २०७२ मा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिराको पनि उस्तै सामना गर्नुपरेको थियो। पछिल्लो एक वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो। 

पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ। आयोजनाको दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइनेछ । निर्माण सुरु गर्ने बेलामा १५ दशमलव एक मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ। 


प्रकाशित : सोमबार, मंसिर १९ २०७९११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend