सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हाइड्रोमा निजी क्षेत्रको ७५ अर्ब लगानी प्रस्तावः यही वर्ष ८११ मेगावाट बिजुली थपिँदै

बुधबार, मंसिर १४ २०७९
हाइड्रोमा निजी क्षेत्रको ७५ अर्ब लगानी प्रस्तावः यही वर्ष ८११ मेगावाट बिजुली थपिँदै

पछिल्लो समय भारतीय बजारमा नेपालबाट विजुली निर्यात हुन थालेपछि पनि निजी क्षेत्रको लगानी बढ्दो छ।

काठमाडौं- पछिल्लो समय हाइड्रो पावरमा निजी क्षेत्रको लगानी बढ्दो छ। पछिल्लो चार महिनामै करिब ७६ अर्ब लगानी गर्ने प्रतिवद्धता सहित २२ वटा कम्पनी दर्ता भएका छन्।  

साउनदेखि कात्तिक मसान्तसम्म ४१७ मेगावट विजुली उत्पादन गर्नेगरी लगानी प्रस्ताव आएका हुन। २२ कम्पनीहरूले ७५ अर्ब ८९ करोड ९५ लाख ९१ हजार ८ सय २८ रुपैयाँ लगानीको प्रस्ताव गरेका छन्। 

स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष कृष्ण आचार्यले निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा खुला गरिदिए अझै ठूलो लगानी आउने बताउँछन्। ‘अहिले पनि पीपीए रोकिएको छ, यसले निजी क्षेत्रलाई हतोत्साहित पारेको छ,’ आचार्यले भने। निजी क्षेत्र विद्युतमा खर्बौ लगानी भित्र्याउन  पहल गरिएको आचार्यले बताए।  

पछिल्लो समय भारतीय बजारमा नेपालबाट विजुली निर्यात हुन थालेपछि पनि निजी क्षेत्रको लगानी बढ्दो छ। साउनयता सुम्निमा हाइड्रोले ७७ करोड ६४ लाख लगानीमा ४.१० मेगावाट विजुली उत्पादन गर्ने जनाएको छ। 

तामाकोसी जलविद्युतले ९९.८ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने तयारी गरेको छ। कम्पनीले १६ अर्ब ४५ करोड लगानी गर्ने प्रस्ताव गरेको छ। कार्बनलेस इनर्जीले ५ अर्ब ९६ करोड लगानीमा ३०.४० मेगावाट विजुली उत्पादन हुँदैछ। त्यस्तै अरुण भ्याली हाइड्रोपावर २ अर्ब ५३ करोड लगानीमा १४.५ मेगावाट विजुली उत्पादन गर्ने भएको छ। एनएस के इनर्जीले १ अर्ब ३२ करोड लगानीमा ७.२५ मेगावाट विजुली उत्पादन गर्दैछ।

ओमेगा इनर्जी डेभलपरले ३ अर्ब लगानीमा १४ मेगावाट विजुली उत्पादन गर्दैछ। ट्रष्ट इनर्जी लिमिटेडले ५ अर्ब लगानीमा ३० मेगावाट विजुली उत्पादन गर्ने भएको छ। नुम्बुर दूधकुण्डले २ अर्ब १६ करोड लगानीमा ९.४८ मेगावाट विजुली उत्पादन गर्नेछ। यारु हाइड्रोपावरले ५ अर्ब ८१ करोड लगानीमा ३०.५९ मेगावट बिजुली उत्पादन गर्दैछ। 

हलेसीले १ अर्ब ७ करोड लगानीमा ५.४ मेगावाट, गोर्खाज हिमालयन हाइड्रोले ८३ करोड ७८ लाख लगानीमा ४.७ मेगावाट, शिखर पावरले १ अर्ब ९ करोड लगानीमा ६.०५ मेगावाट, एलायन्स इनर्जीले ८८ करोड लगानीमा ४.५ मेगावाट विजुली उत्पादन गर्ने छ। 

डाइनामिक पावरले ८४ करोड ३४ लाख लगानीमा ४.५ मेगावाट, मेवा डेभलपर्स लिमिटेडले २ अर्ब लगानीमा ९.३० मेगावाट, सिल्क पावरले ४ अर्ब ४० करोड लगानीमा २४.८८ मेगावाट, बाग्मती इनर्जीले १ अर्ब ३५ करोड लगानीमा ६.५ मेगावाट बिजुली उत्पादन गर्दैछ।

माउन्टेन इनर्जीले १ अर्ब ६१ करोड लगानीमा १२ मेगावाट, डायनामिक हाइड्रोले ५ अर्ब ९१ करोड लगानीमा ४० मेगावाट, माथिल्लो मैलुङ खोलाको २ अर्ब ३४ करोड लगानीमा १३ मेगावाट, दोर्दीखोलाको आयोजनाले ५ अर्ब १७ कारोड लगानीमा २३.७० मेगावाट, र दोर्दी खोलाकै सुपर इन्खु पनि ४ अर्ब ८४ करोड लगानीमा २२.१२ मेगावाट विजुली उत्पादन गर्ने भएको छ। 

८११ मेगावाट विजुली थपिँदै

चालू आर्थिक वर्ष भित्रै नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ८११ मेगावाट विजुली थपिने भएको छ। ४७ नयाँ विद्युत् आयोजनाबाट ८११ मेगावट विजुली थपिने भएको हो।

साउन देखि कात्तिक मसान्तभित्र १० आयोजनाबाट  १२७.६८ मेगावाट उत्पादन थालिएको छ। माघमा वर्षभरिकै धेरै एकै पटक २४४.२६ मेगावाट विजुली थपिने भएको छ। हाल २२ सय मेगावाट विजुली उत्पादन भइसकेका छन्। हिँउदमा कम उत्पादन हुने भएकोले विद्युत प्राधिकरणले भारतबाट आयात गर्नेछ। यसवर्ष पहिलो पटक नेपालले आयात भन्दा निर्यात धेरै गर्ने निश्चत भएको छ। 

बिजुली निर्यातबाट १० अर्ब आम्दानी 

बिजुली निर्यातबाट मुलुकले चालू आर्थिक वर्षमा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ। पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो।

देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो। यो गत कात्तिकसम्मको विवरण हो।  प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ। 

सुरुमा दुई विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि गत २७ जेठदेखि दैनिक रुपमा छ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत स्रोत मानी दैनिक रुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै थियो। गत १८ र  ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ। 

खोलानालामा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 

‘उद्योगले अहिले स्वीकृति लोडअनुसार विद्युत् नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युत्को माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सकिने अनुमान गरिएको छ’, उनले भने। 

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेको छ।


प्रकाशित : बुधबार, मंसिर १४ २०७९१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend