शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार

आइतबार, मंसिर ११ २०७९
मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार

लामो समयदेखि नेपाली राजनीतिमा स्थापित कतिपय व्यक्तिलाई सो पार्टीका उम्मेदवारले पराजित गरेका छन्। यस्तो मेसोमा कतिपय बहालवाला मन्त्री पनि परेका छन्। 

काठमाडौं- मतदाताको मन कुनबेला बदलिन्छ र त्यसले राजनीतिमा कस्तो फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुन्छ। निर्वाचन अघि सामान्य झलक नदेखिए पनि मतगणनापछि भने नसोचेको परिणाम हात लागेको छ। 

राजनीतिक दल र तिनका नेताहरुले आफ्नो ठानेका क्षेत्रमा पनि यस पटकको निर्वाचनको परिणाम फरक देखियो। यसकारण मतदाताको स्वभाव र चाहनाको ख्याल गर्ने उम्मेदवार सफल भए भने निर्वाचनलाई परम्परागत रुपमा लिएका उम्मेदवार पराजित भएका छन्। 

प्रतिनिधिसभा र प्रदेशसभाको यस पटकको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात स्थानमा विजयी भएको छ। लामो समयदेखि नेपाली राजनीतिमा स्थापित कतिपय व्यक्तिलाई सो पार्टीका उम्मेदवारले पराजित गरेका छन्। यस्तो मेसोमा कतिपय बहालवाला मन्त्री पनि परेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, काठमाडौं क्षेत्र नं ८ मा उम्मेदवार रहेका संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ बाट राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका हुन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार दुई सय चार मतसहित निर्वाचित हुँदा नेकपा(एमाले)का उम्मेदावर सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत पाए। सोही क्षेत्रका अर्का उम्मेदवार नेपाली कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत पाए।  

राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा गएका विश्वनाथ पौडेल र पूर्वअर्थमन्त्री एमाले उम्मेदवार सुरेन्द्र पाण्डे चितवनको क्षेत्र नं १ बाट स्वतन्त्र पार्टीका हरि ढकालसँँग पराजित भए।  

काठमाडौं क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीकै गणेश पराजुली आठ हजार सात सय ४३ मत प्राप्त गरी विजयी भए। यहाँ एमालेका श्यामकुमार घिमिरेले छ हजार आठ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले छ हजार ६३ मत पाइन्। 

काठमाडौं क्षेत्र नं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पर्यटनमन्त्री श्रेष्ठ पराजित भए। श्रेष्ठले १० हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार एक सय ७९ मत प्राप्त गरेका हुन्। सो क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार आठ सय ९१ मत पाए। मन्त्री श्रेष्ठले चार हजार आठ सय ८१ मत पाए।  

स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार दुई सय ६४ मत ल्याई निर्वाचित हुँदा उनका प्रतिस्पर्धी, कांग्रेस उम्मेदवार राज्यमन्त्री श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरे।  

स्वतन्त्र पार्टीकै सोविता गौतम काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भइन्। उनले १५ हजार दुई सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार पाँच सय ६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार ओनसरी घर्तीले नौ हजार चार सय ५९ मत पाए। 

ललितपुर क्षेत्र नं ३ बाट सोही पार्टीकी तोसिमा कार्कीले ३१ हजार एक सय ३६ मत प्राप्त गरी विजयी भइन्। सो क्षेत्रमा दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ मत र तेस्रो स्थानमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेका थिए। रासस


प्रकाशित : आइतबार, मंसिर ११ २०७९१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend