बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

२०२२ मा विश्वभर एक करोडभन्दा बढी विद्युतीय कार बिक्री हुने, नेपालमा कति होला? 

आइतबार, मंसिर ११ २०७९
२०२२ मा विश्वभर एक करोडभन्दा बढी विद्युतीय कार बिक्री हुने, नेपालमा कति होला? 

२०२१ मा विश्वभर बिक्री भएका कुल कार मध्ये नयाँ विद्युतीय कारको बिक्री जम्मा ८.७ प्रतिशतमात्र थियो। जबकी २०२२ को ६ महिनामा कुल कार बिक्रीमा नयाँ विद्युतीय कारको हिस्सा १३ प्रतिशतभन्दा माथि रहेको छ।

काठमाडौं- विश्वभर विद्युतीय कारको बिक्री बढ्दै गइरहेको छ। विद्युतीय सवारीको स्वीकार्यता बढ्नुका साथै सवारी उत्पादकले विद्युतीय सवारीको मोडलसहित उत्पादन बढाउनुले बिक्री बढाएको हो। 

२०२१ मा विश्वभर ६६ लाख विद्युतीय कार बिक्री भएको थियो। २०२२ को अन्त्यसम्ममा विश्वभर १ करोडभन्दा बढी विद्युतीय कार बिक्री हुने प्रक्षेपण गरिएको छ। उक्त संंख्यामा विद्युतीय कार बिक्री भएमा शून्य प्रदूषण कार बिक्रीले राम्रै लयलिएको मानिनेछ। 

२०२१ मा विश्वभर बिक्री भएका कुल कार मध्ये नयाँ विद्युतीय कारको बिक्री जम्मा ८.७ प्रतिशतमात्र थियो। जबकी २०२२ को ६ महिनामा कुल कार बिक्रीमा नयाँ विद्युतीय कारको हिस्सा १३ प्रतिशतभन्दा माथि रहेको क्लिन टेक्निकाले लेखेको छ। त्यस्तै विद्युतीय सवारीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीको उत्पादनमा समेत उल्लेख्य वृद्धि भएको छ। 

२०१७ मा विश्वभर ११ लाख वटा विद्युतीय सवारी बिक्री भएको थियो। २०२० मा आइपुग्दा विद्युती कार बिक्री ३१ लाख पुगेको थियो। त्यसमध्ये सबैभन्दा धेरै विद्युतीय कार चीनमा बिक्री भएको थियो। विद्युतीय कार बिक्रीमा चीनलाई युरोपले पक्षाइ रहेको छ। २०२१ मा विश्वभर ६६ लाख विद्युतीय सवारी बिक्री भएको थियो। त्यसमध्ये २५ लाखभन्दा बढी चीनमै बिक्री भएको थियो। 

global ev sales in 2022.PNG

२०२२ मा १ करोड ६ लाख वटाभन्दा बढी विद्युतीय कार बिक्री हुने प्रक्षेपण गरिएको छ। २०२२ को पहिलो ६ महिनामा विश्वभर ४३ लाख वटा विद्युतीय कार बिक्री भएको थियो। वर्षभरीमा यो संख्या १ करोड नाघ्ने अनुमान गरिएको हो। 

नेपाली बजारमा भने विद्युतीय कारको बिक्री अझै पनि न्यून नै रहेको छ। यसको मुख्य कारण अस्थिर सरकारी नीति नै हो। कुन सरकारले विद्युतीय कारको कर बढाउने कुन सरकारले घटाउने भन्ने निश्चित छैन। हाल नेपाली बजारमा ठूलो संख्यामा चीन तथा भारत र कोरियाबाट विद्युतीय कार आयात हुँदै आएको छ। नेपालमा मासिक केही सयको संख्यमा मात्र विद्युतीय कार बिक्री हुँदै आएको छ। 

विद्युतीय स्कुटरका ब्रान्ड ५० वटा भन्दा बढी नेपाल भित्रिएको भएपनि बिक्री भने उल्लेख्य रुपमा बढ्न सकेको छैन। विद्युतीय कार भने वार्षिक ५ हजारवटा बिक्री हुन पनि कठीन अवस्था रहेको छ। आगामी वर्षहरुमा भने यो बढ्दै जाने अनुमान गरिएको छ। 

२०२१ को तुलनामा २०२२ को पहिलो ६ महिनामा लिथियम आयन ब्याट्री उत्पादन क्षमता ३८ प्रतिशतले बढेको हो। शून्य प्रदूषण सवारी र यसको पूर्वाधार निर्माणमा २०२२ मा विश्वभर ४ खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको अनुमान गरिएको छ। 

हालै सम्पन्न काप २७ मा समेत शून्य प्रदूषण सवारीको उत्पादन र प्रयोगलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। कोप २६ मा भएको सम्झौता तथा छलफल कार्यान्वयनमा कमजोरी भएको समीक्षा कोप २७ मा भएको थियो। अब भने सम्झौता कार्यान्वयनलाई इमान्दारितापूर्वक कार्यान्वनमा सबै सदस्य राष्ट्रहरुले जोड दिएका छन्। 

हाल संसारभर चलेका विद्युतीय कारले हरेक वर्ष १ करोड ५२ लाख टन कार्बन उत्सर्जन कम गराइरहेका छन्। एसियाली बजारमा ठूलो संख्यामा चल्ने दुई तथा तीनपांग्रे सवारीले यसमा राम्रै योगदान गरिरहेका छन् जुन बढ्दो क्रममा रहेको छ। 

विश्वभरका सरकारहरु तथा सवारी उत्पादकहरुले तय गरेको लक्ष्यअनुसार शून्य सवारी प्रयोग कार्यान्यनमा आए २०३५ सम्म विश्वभर बिक्री हुने प्यासेन्जर सवारीको ४१ प्रतिशत विद्युतीय वा न्यू इनर्जी सवारीले ओगट्ने छ। गत वर्षको कोप २६ ले निर्धारण गरेको यो लक्ष्य यो वर्षको कोप २७ ले खासै परिमार्जन गरेको छैन। 

यता कार उत्पादकहरुले भने २०३५ सम्ममा २३ प्रतिशत इन्टरनल कम्बस्चन इन्जिन (आईसीई)लाई विद्युतीयले विस्तापित गर्नेछ। यो २०२१ को कोप २६ मा १९ प्रतिशतमात्र हुने उल्लेख थियो। २०४० मा भने यो लक्ष्य ३० प्रतिशत बनाउन सवारी उत्पादकहरु लागि पर्ने प्रतिवद्धता जनाएका छन्। 


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend