बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भारतमै बनेको विलासी ‘डिफाई’ विद्युतीय एसयूभी, अन्यलाई दिनसक्छ चुनौती

यही महिना सार्वजनिक हुने

शनिबार, मंसिर ३ २०७९
भारतमै बनेको विलासी ‘डिफाई’ विद्युतीय एसयूभी, अन्यलाई दिनसक्छ चुनौती

डिफाई विद्युतीय एसयूभीमा भएको ब्याट्री ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने दाबी कम्पनीले गरेको छ। यो विद्युतीय एसयूभीले ४०२ एचपी पावर र ६२० एनएम टर्क जेनेरेट गर्छ।

काठमाडौं- भारतमा दुईपांग्रे विद्युतीय सवारी उत्पादनमा सयभन्दा बढी स्टार्टअप कम्पनीहरूले उत्पादन बजारमा ल्याइसकेको वा ल्याउने क्रममा रहेका छन्। परम्परागत कार निर्माताहरूले विद्युतीय कार बनाइरहेका छन्। दुईपांग्रे विद्युतीय सवारी स्टार्टअप ओलाले पनि विद्युतीय कार ल्याउने घोषणा गरिसकेको छ। 

यस्तैमा भारतको बैंलोरमा रहेको एक स्टार्टअप कम्पनीले विद्युतीय एसयूभी सार्वजनिक गर्ने भएको छ। कम्पनीले यही नोभेम्बर २५ मा शक्तिशाली विद्युतीय एसयूभी कार सार्वजनिक गर्ने घोषणा गरेको छ। विद्युतीय सवारी स्टार्टअप कम्पनी प्रवाग डाइनामिक्सले आफूले बनाएको पहिलो विद्युतीय एसयूभी डिफाई सार्वजनिक गर्ने बताएको हो। 

प्रवागले बनाएको विद्युतीय एसयूभी अन्य ठूला कम्पनीले बनाएको विद्युतीय एसयूभीसँग पावर र विलाशी दुवैमा प्रतिस्पर्धा गर्न सक्ने बनाएको दाबी गरेको छ। डिफाई ५ सिट क्षमताको एसयूभी सेगमेन्टको विद्युतीय कार हो।

यद्यपी प्रवागको यो पहिलो कार भने होइन। कम्पनीले केही समयअघि सेडान सेगमेन्टको एमकेवान विद्युतीय कार शोकेस गरेको थियो। एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज र २ सय किलोमिटर प्रतिघण्टाको उच्च गतिमा सो कार उद्ने दाबी कम्पनीले गरेको थियो। तर सो कार बिक्रीका लागि भने बजारमा आएन। 

pravaig electric.PNG

अब भने कमर्सियल बिक्रीकै लागि उत्पादन गर्ने दाबीसहित नोभेम्बर २५ मा सार्वजनिक हुने डिफाई विद्यूतीय एसयूभीले एक पटकको फुल चार्जमा ५ सय ४ किलोमिटर रेन्ज दिनेछ। यो हालसम्म भारतमा सार्वजनिक भएको विद्युतीय कारमध्ये सबैभन्दा धेरै रेन्ज दिने कार हो। 

डिफाई विद्युतीय एसयूभीमा भएको ब्याट्री ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने दाबी कम्पनीले गरेको छ। यो विद्युतीय एसयूभीले ४०२ एचपी पावर र ६२० एनएम टर्क जेनेरेट गर्छ। यो पावर भोल्भो एक्ससी४० रिजार्च, किया ईभीसिक्स र अउडी इट्रोन सरह हो। डिफाईको उच्च गति २ सय १० किलोमिटर प्रतिघण्टा रहेको छ भने शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४.९ सेकेन्डमै तय गर्नेछ। 

कम्पनीले कारको मूल्यलगायत अन्य विशेषता बारे भने केही बताएको छैन। यो आकर्षक विद्युतीय एसयूभी नेपाली बजारमा समेत आउन सक्छ। भारतीय कम्पनीले भएकाले यो कार औपाचारिक बिक्री भएलगत्तै आधिकारिक बिक्रेताको रुपमा नेपाल आउन सक्छ। 


प्रकाशित : शनिबार, मंसिर ३ २०७९०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend