सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

शुक्रबार, मंसिर २ २०७९
साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ।

काठमाडौं- बिजुली निर्यातबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ। पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो।

देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो। यो गत कात्तिकसम्मको विवरण हो। 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ। 

सुरुमा दुई विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि गत २७ जेठदेखि दैनिकरुपमा छ वटा जलविद्युतगृहबाट उत्पादित विद्युत स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै थियो। गत १८ र  ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युतकाे स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ। 

खोलानालामा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 

'उद्योगले अहिले स्वीकृति लोडअनुसार विद्युत् नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युत्को माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सकिने अनुमान गरिएको छ', उनले भने। 

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ। प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेको छ। 

कुन महिना कति?

biju chat.png

थप २३.५ मेगावाट निर्यात अनुमति

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३ दशमलव पाँच मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ।

भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत्  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो। प्राधिकरणले अब आठ जलविद्युत् केन्द्रबाट उत्पादित चार सय नौ  मेगावाट विद्युत् भारतीय आइएक्सको डे-अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव शुन्य चार मेगावाटको लिखुखोला ‘ए’, २५ मेगावाटको काबेली ‘बी’-एक, २२ मेगावाटको माइखोला, १४ दशमलव नौ मेगावाटको हेवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी-एक, ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलव दुई मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव पाँच मेगावाटको सोलुखोला र २२ दशमलव एक मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेश गरेको थियो। त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो।


प्रकाशित : शुक्रबार, मंसिर २ २०७९१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend