बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

३ महिनामा ७०५ विद्युतीय कार आयात

आइतबार, कात्तिक १३ २०७९
३ महिनामा ७०५ विद्युतीय कार आयात

तीन महिनाको अवधिमा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ मूल्य बराबरका ७ सय ५ वटा विद्युतीय कार आयात भएका हुन्। यसबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा ७ सय ५ वटा विद्युतीय कार आयात भएको छ। भन्सारले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन महिनामा उक्त संख्यामा विद्युतीय कार आयात भएको हो। 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १ सय किलोवाट मोटर क्षमताका विद्युतीय कारमा कर नबढाई त्योभन्दा बढी मोटर क्षमताका कारमा भने कर बढाएको थियो। सोही कारण हाल नेपाल आयात हुने सबैजसो विद्युतीय कार १ सय किलोवाट क्षमताकै हुने गरेका छन्। 

तीन महिनाको तथ्यांकअनुसा १ सय किलोवाट क्षमताका मोटर भएका ६ सय ८६ वटा विद्युतीय कार आयात भएका छन्। त्यस्तै १ सयदेखि २ सय किलोवाट क्षमताका जम्मा १७ वटा र २ सयदेखि ३ सय किलोवाट क्षमताका मोटर भएका केवल २ वटा मात्र विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ। 

१ सय किलोवाटसम्मका विद्युतीय कार भारत, चीन र दक्षिण कोरियाबाट आयात हुँदै आएको छ। भारतबाट टाटा नेक्सन ईभी र टियोर ईभी आयात भइरहेको छ भने चीनबाट निटा भीलगायत ब्रान्डका विद्युतीय कार आयात भइरहेको छ। त्यस्तै कोरियाबाट हुन्डाईको कोना ईभी र आयोनिक फाइभ विद्युतीय कार आयात हुँदै आएको छ। त्यस्तै कोरियाबाट कियाको निरो ईभी विगतमा आयात भएको र अब १ सय किलोवाट मोटर क्षमतामा आयात हुने क्रममा रहेको छ। 

तीन महिनाको अवधिमा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ मूल्य बराबरका ७ सय ५ वटा विद्युतीय कार आयात भएका हुन्। यसबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ। सरकारले विद्युती कारको आयातमा कर सहुलियत दिएको छ। सोही कारण सरकारले विद्युतीय कारको आयातबाट पेट्रोलियम कारमा जस्तो राजस्व आम्दानी गर्न सक्दैन। 

विद्युतीय कारको माग बढ्दै भएको र १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा करको दर कम भएकाले विभिन्न कम्पनीहरुले सोही क्षमताका विद्युतीय कार ल्याउने तयारी गरिरहेका छन्। हाल नेपालमा विद्युतीय कार उपलब्ध गराइ रहेका टाटा, हुन्डाई, निटा, किया, एमजी, टेस्लालगायत ब्रान्डका साथै अन्य नयाँ ब्रान्डका विद्युतीय कारसमेत नेपाल ल्याउने तयारी व्यवसायीहरुले गरेका छन्। 


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९०८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend